मासु कम खाएकै राम्रो, यी रोग हुनेले

MANASLU TV मा subscribers गर्नुहोला ।

  मनास्लु पोष्ट  1185 पटक हेरिएको

काठमाडौं : दशैँ भन्नेवित्तिकै मासु खाने पर्वको रूपमा लिने गरिन्छ । फूलपाती र दशैँको अष्टमीको दिन सबैले घरघरमा विभिन्न जनावरहरू खसी, बोका, राँगा च्याङ्ग्रा काट्ने चलन रहेको छ ।  यसरी काटिएको मासु नसकिएसम्म दशैँपछि सम्म पनि खाने चलन छ। तर दशैँको समयमा मासु खाँदा विशेष ध्यान दिनुपर्नेमा चिकित्सकहरू जोड दिन्छन् । काम नगरी धेरै प्रोटिन र चिल्लो मसलेदार मासुका परिकारहरू खाँदा स्वास्थ्यमा प्रतिकूल असर पार्ने चिकित्सकहरू बताउँछन् । अझ शरीरमा विभिन्न खालका समस्या भएकाहरूले भने दशैँमा मासु तथा खानेकुरा खाँदा विशेष ध्यान दिनुपर्छ ।

शरीरमा यी समस्या हुनेले ख्याल गर्नुपर्छ दशैँमा मासु खाँदा

ग्यास्ट्रिक : ग्यास्ट्रिकको समस्या हुनेहरूले दशैँमा मासु तथा अन्य खानेकुराको परिकार खाँदा विशेष ध्यान दिनुपर्छ । ग्यास्ट्रिकको समस्या हुनेहरूले सकेसम्म तेलमा तारेको तथा धेरै मसला हालेर बनाइएको र मसलादार मासु नखाँदा राम्रो हुन्छ । सकेसम्म फलफूल, हरियो सागसब्जी खानु राम्रो हुन्छ ।

उच्च रक्तचाप :  उच्चरक्तचापको समस्या भएकाहरूले समेत दशैँको खानपानमा ध्यान दिनु आवश्यक हुन्छ। उच्चरक्तचापको समस्या हुनेले सकेसम्म खसी तथा राँगाको मासु नखाँदा राम्रो हुन्छ । यस्तै, चिल्लो र बोसो भएको मासु सकेसम्म नखानु नै राम्रो हुन्छ । रक्तचापको समस्या हुनेले सकेसम्म कुखुरा तथा माछा खाँदा राम्रो हुन्छ ।

उच्च कोलेस्ट्रोल तथा मुटुसम्बन्धी समस्या : उच्च कोलेस्ट्रोलको सम्सया भएकाहरूले पनि दशैँमा खानपानमा विशेष ध्यान दिनुपर्छ । कोलेस्ट्रोल र मुटुसम्बन्धी समस्या हुनेले रातो मासु खानु राम्रो हुँदैन । यस्ता समस्या हुनेले फलफूल तथा हरियो सागसब्जी खानु राम्रो हुन्छ । यस्तै, मधुमेहका बिरामीले समय समयमा खाना खानुपर्ने भएकाले दशैँको बेला पूजाआजा तथा पकाउने कुरामा व्यस्त भए पनि बेलाबेलामा खानेकुरा खानुपर्छ। दूध, फलफूल तथा चिनी नहालेको कालो चिया खाइरहनुपर्छ। मधुमेहका रोगीले पनि भरसक रातो मासु नखाँदा नै राम्रो । मासुबाहेक दाल, गेडागुडी, पनिर, दूध, दही, तोफु खादि खाँदा राम्रो ।

युरिक एसिड : युरिक एसिडको समस्या हुनेहरूले पनि दशैँमा मासु कम खाएको राम्रो हुन्छ । मासुमा धेरै प्रोटिन हुने हुँदा यसले शरीरमा युरिक एसिड बढाएर जोर्नीहरू दुख्ने गर्छन् । यस्तै, पित्तथैली तथा मिर्गौलासम्बन्धी बिरामी भएकाहरूले पनि मासु कम खानु राम्रो हुन्छ । यी बिरामीहरूले सकेसम्म फलफूल तथा सलाद खानु राम्रो हुन्छ ।
(मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीसँगको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार