
वासिंगटन । अमेरिकाले इरानमाथि लागू गर्ने भनेको कडा प्रतिबन्ध सोमबारदेखि सुरु भएको छ । इरानमाथिको यो प्रतिबन्ध सोमबारदेखि प्रभावी बनेको बीबीसीले दाबी गरेको छ । यो प्रतिबन्धका माध्यमबाट अमेरिकाले इरानको पेट्रोलियम व्यापारलाई प्रभावित पार्ने रणनीति लिएको छ ।
सन् २०१५ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले इरानसँग गरेको परमाणु सम्झौताबाट पछि हट्दै अमेरिकाले यो प्रतिबन्धको घोषणा गरेको थियो । अमेरिकाले यो प्रतिबन्धबाट इरान अमेरिकासामू झुक्ने विश्वास लिएको छ ।
फक्स न्युनज सन्डेसँग कुराकानी गर्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भने, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति इरानमाथि पूर्ण रुपमा दबाब बनाउने हो । इरानको मुद्रा रियाल डलरको तुलनामा पहिलेनै धेरै कमजोर भइसकेको छ । हामी इरानले आफ्नो रबैया परिवर्तन गरोस् भन्ने चाहन्छौं ।’
उनले भने, ‘सोमबारदेखि लागू हुने प्रतिबन्ध इरानमाथि लगाएको अहिलेसम्मको सबैभन्दा कठोर प्रतिबन्ध हो । आतंकवादलाई बढावा दिनबाट इरानलाई रोक्नु एकमात्र उद्देश्य हो ।’ अमेरिकी प्रतिबन्धको विरोधमा इरानमा अमेरिका विरोधी विशाल प्रदर्शन सुरु भएका छन् ।
प्रदर्शनकारीले अमेरिकासँग वार्ताको सम्भावनालाई पनि अस्वीकार गरेका छन् । इरानमा सेनाले सोमबार र मंगलबार हवाई अभ्यास गर्ने र इरानको रक्षात्मक क्षमता प्रदर्शन गर्ने जनाएको छ ।
इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले राजधानी तेहरानमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै भने, ‘अमेरिकाका विरुद्ध हाम्रो घृणालाई कहिल्यै पनि नभुल्नु होला । दुश्मनको झुठो मुस्कानबाट कहिल्यै धोखा नखानुहोस् ।’
उनले थपे, ‘अमेरिका इरानका जनतामाथि आफूहरुको कुनै दुश्मनी नभएको र सत्ताका विरुद्ध आफूहरुको कदम भएको बताउँछ । तर अमेरिकाले यो सरासर झुठो बोलिरहेको छ । किनकि इरानका जनताको साथ बिना कसैले इरानी सत्ता चलाउन सक्दैन । अमेरिका हाम्रो दुश्मन हो ।

616 पटक हेरिएको 

