अमेरिकाका पूर्व राष्ट्रपति बुसको ९४ वर्षको उमेरमा निधन

  मनास्लु पाेष्ट  877 पटक हेरिएको

वासिंगटन । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ वर्षको उमेरमा निधन भएको छ । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आफ्नो जीवनको ९४ वर्ष पुग्नु भएका हाम्रा पिता जर्ज एच डब्लु बुसको निधन भएकोमा हामी धेरै दुःखी छौं ।’

उनले आफ्ना बाबु दृढ चरित्र भएका व्यक्ति र बच्चाहरुका लागि सबैभन्खदा राम्रो बाबु भएको उल्लेख गरेका छन् । बुसको मृत्यु के कारणले भएको हो भन्ने बारेमा स्पष्ट नखुलाइए पनि उनी पार्किन्सनको विरामी भएकाले सोही कारण मृत्यु भएको अनुमान गरिएको छ ।

यसैवर्षको अप्रिलमा बुसलाई रगतको संक्रमण भएका कारण अस्पताल भर्ना गराइएको थियो । तर छिट्टै उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

सन् १९८० को दशकमा राष्ट्रपति रोनाल्ड रेगनको प्रशासनका क्रममा उनले उपराष्ट्रपतिको भूमिका निर्वाह गरे भने सन् १९८९ देखि १९९३ सम्म राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेका थिए ।

उनको कार्यकालका क्रममा सोभियत संघ विघटन भएको थियो भने पनामाका तानशाह म्यानुअल नोरिगालाई पनि सोही समयमा पदबाट हटाइएको थियो ।

सन् १९९१ मा उनले गठबन्धन सेनाको नेतृत्व गर्दै इराकका विरुद्ध युद्ध छेडेका थिए । त्यतिबेला राष्ट्रपति सद्दाम हुसेनको नेतृत्वमा इराकले कुबेतमाथि हमला गरेको थियो ।

उनको यो कदमलाई जनताले समर्थन गरेपनि एक कार्यकाल बिताएपछि उनले व्हाइट हाउस छाड्नु परेको थियो । उनीपछि बिल क्लिन्टन अमेरिकाको राष्ट्रपति बनेका थिए ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बुसको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँ एक राम्रो उदाहरणका रुपमा अमेरिकाको इतिहासमा जीवित रहनुहुनेछ र अमेरिकीको सुन्दर भविष्यतर्फ अघि बढ्न प्रेरणाका स्रोतका रुपमा रहनुहुनेछ ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार