जाडोमा छाला कसरी जोगाउने ?

  डा सुदीप पराजुली  921 पटक हेरिएको

जाडोमा विभिन्न प्रकारका छालाका समस्या देखापर्न सक्छन्। चिलिब्लेन्स जाडोमा बढी देखिने समस्या हो । यो विशेषगरी चिसो हावा र पानीकोे कारणले हुने गर्छ । मुख्यतः जाडोमा छाला सुख्खा हुने समस्या नै बढी हुन्छ, जसलाई जेरोसिस भनिन्छ । सुख्खापन विशेगरी बच्चा र बुढालाई भयो भने बढी आपत पर्छ । सुख्खा भयो भने चिलाउँछ। चिलाएपछि मान्छेले कन्याउँछ र कन्याएपछि घाउ हुन्छ, रगत आउँछ अनि संक्रमण हुने सम्भावना बढ्छ ।

कुनै–कुनै बानी पनि जाडो महिनामा बढ्छ । कोही हजुरआमा–बा छन् भने जाडो महिना आयो कि आत्तिने हुन्छन् । जिउ चिलाउँछ भनेर आत्तिन्छन् । किनकी छाला यसै पनि सुख्खा हुन्छ चिलाउने बढ्छ। सुत्न नसक्ने हुन्छ अनि बिरामी पर्छ। बच्चामा पनि छालाको समस्या आउन सक्छ। लुतो चाहिँ जाडोमा देखिन्छ किनकी अरु बेलाभन्दा जाडो मौसममा मानिस कम नुहाउँछ । अनि विशेषगरी बच्चालाई यो समस्या देखिन सक्छ ।

त्यसैगरी गर्मीमा आएको फंगल इन्फेक्सन जाडोमा बढ्न सक्छ । जाडोमा स्किन ड्राई हुन्छ। जाडोमा भइराखेको रोग बढ्ने हुन्छ । घामबाट बल्झिने रोग जस्तै ‘पोलिमर्फिक लाइट इरप्सन’ हुने सम्भावना हुन्छ । जुन घामको किरणबाट छालामा हुने समस्या हो। मेलाज्मा जसलाई चाँया–पोतो भनिन्छ, जाडोमा घाम ताप्ने बानी हुने हुनाले कालो पातो भएको मान्छेलाई अलि दुःख दिन्छ । घामको किरणले बढेर आउँछ ।

घामबाट जोगाउने क्रिमहरु जाडोमा पनि उत्तिकै जरुरी छ । लगाउन परे जाडोमा क्रिम जेलयुक्तभन्दा क्रिमयुक्त लगाउन उपयुक्त हुन्छ । घाममा बस्ने हो भने मुख छोपेर बस्नुपर्छ । धेरै बेर बस्नुहुँदैन । घाममा बस्दा पूरा बाहुले लुगा लगाएर बस्दा केही समस्या हुँदैन भने हात नछोपिने लुगा लगाएपछि घाम ताप्दा छालालाई असर पार्छ। सोरोसिस भन्ने रोग पनि जाडोमा बढ्छ। कत्ले रोग पनि भनिन्छ। त्यो चाहिँ जाडो महिनामा अलिकति बढ्छ ।

जाडोमा छाला सुख्खा हुने भएकाले छालालाई तैलीय राख्नुपर्छ अनि छालाको समस्याबाट बच्न सकिन्छ। यो चाहिँ छालामा कत्ला पर्छ । हात र खुट्टामा चिलाउने बढी हुन्छ । त्यसैले आफ्ना हात र खुट्टाको सुरक्षाको लागि तातो पानी र पञ्जा प्रयोग गर्नुपर्छ। सबैभन्दा राम्रो मोस्चराइजर लगाउँदा हुन्छ। जाडोमा छाला सुख्खा हुनबाट बचाउन मोस्चराइजर लगाउनुपर्‍यो । भ्यासलिन भएको मोस्चराइजर लगाउनुपर्छ । विज्ञापनमा जे देख्यो त्यही लगाउनुपर्छ भन्ने छैन किनकी सबै छालालाई त्यो उपयुक्त नहुन पनि सक्छ। कुनै साबुन प्रयोग गर्दा त्यसले एलर्जी गराउने सम्भावना बढी हुन्छ। मोस्चराइजर भएको साबुन प्रयोग गर्नुपर्छ । कसैलाई उनीको लुगाले पनि एलर्जी निम्त्याउने हुन्छ त्यसैले यसमा पनि अलि सावधानी अपनाउन जरुरी छ। भित्रबाट पहिले सुतीको लुगा लगाएर बाहिर मात्र उनीको लुगा लगाउने गर्नुपर्दछ ।

जाडो तथा गर्मी दुवैमा छालाको समस्या आउँछ । आफ्नो छालामा कुनै समस्या आएको छ भने औषधि तथा मल्हम कहिल्यै पनि फार्मेसिस्टबाट सिधै गएर नलिउँ। हामीले अहिले फंगल इन्फेक्सनको समस्या धेरै पाएका छौं । जुन विकराल समस्याको रुपमा आएको छ । यहाँ प्रेस्क्रिप्सनबिना सिधै औषधि बेच्ने चलन छ ।

त्यसैगरी त्यस्ता औषधि खाँदा एकछिन सञ्चो भएजस्तो हुने तर फंगस नमर्ने अनि झन् बल्झिने हुन्छ । फंगस यति बलियो भएर आइसकेको हुन्छ कि पछि औषधिले काम नगर्ने हुन्छ । अनि हामीसँग दिने औषधि पनि केही बाँकी रहँदैन । त्यसैले त्यस्तो औषधि कहिले पनि नलगाउँ डाक्टरको सल्लाह मागेर मात्र लगाउँ, नत्र छाला बिग्रन सक्छ ।

-( डा पराजुली त्रिवि शिक्षण अस्पतालको चर्म, यौन तथा कुष्ठरोग विभागमा कार्यरत छन् । )

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार