हुम्ला, । एउटा फुरुको (काठको भाँडा)को मूल्य पाँच हजारसम्म पर्ने गरेको छ । हुम्ला बझाङ, बाजुरालगायतका जिल्लामा रुखबाट तयार गरिने उक्त फुरुको माग बढेपछि यसको मूल्य राम्रो पाइने गरेको हो । जङ्गलबाट खोजेर ल्याउनेदेखि तयार गरेर बिक्री गरिने एउटा फुरुको मूल्य पाँच हजारसम्म पर्ने गरेको ताक्लाकोटमा यसको व्यापार गर्दै आउनुभएका व्यापारी ठोक्याल लामाले बताउनुभयो ।
यसको मूल्य आकार र रूप हेरेर निर्धारण गरिन्छ । वर्षमा पाँच हजारसम्म फुरु बिक्री गर्ने लामाले यसबाट मनग्गे कमाइ हुने बताउनुभयो । यो फुरुलाई अन्तिम रूपमा दिन पनि धेरै समय लाग्ने र मूल्य पनि राम्रो पाइने भएको कारण यो व्यवसाय लामो समयदेखि उहाँले गर्दै आउनुभएको छ । ताक्लाकोटमै रहेका १२ जना व्यापारीले फुरुको व्यापार गर्दै आएका छन् । फुरुको व्यापार गर्ने उत्तरी हुम्लाका लामा समुदायको मुख्य व्यवसाय नै यही हो । फुरुको व्यापार राम्रो गर्नसके व्यापारीले वर्षमा साढे दुई करोडसम्म कमाइ गर्ने उहाँको भनाइ छ ।
कोरोनाको कहरबीच पनि फुरु व्यापारले राम्रो आम्दानी गरेको व्यापारी टेकबहादुर लामाले बताउनुभयो । कोरोनाअघि हिल्सा नाकाबाट ताक्लाकोट जाने उक्त फुरु अहिले भने काठमाडौँबाट निकासी भएर ताक्लाकोट पुग्ने गर्दछन् । यसको प्रयोग मुख्य गरी चिया र छ्याङ पिउन गरिन्छ । तिब्बतीहरू फुरुको बढी प्रयोग गर्ने भएका कारण यसको व्यापार राम्रो हुने गरेको उहाँले बताउनुभयो ।

702 पटक हेरिएको 

