उर्लाबारी, । मोरङको पथरीशनिश्चरे–१० स्थित भुटानी शरणार्थी शिविरका ५१ वर्षीय दीपक गिरीलाई दशैँ नआए पनि हुन्थ्यो जस्तो लाग्छ । शरणार्थीसम्बन्धी उच्चस्तरीय आयोग (यूएनएचसीआर)ले भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गराउन थालेपछि उनका सबै आफन्त परदेशीय । श्रीमती र छोराछोरी अमेरिकामा बस्छन् । बुवाआमा, बहिनी ज्वाइँ र भाइको परिवार अस्ट्रेलियामा छ ।
गिरी १३ वर्षयता एक्लो छन । आफन्त कोही छैनन् । अरू समय त यसो निर्माणको काममा गयो । दुई चार पैसा ल्यायो । त्यही पैसाले दालभात पकायो खायो । तर, चाडबाड लागेपछि उनको मन भक्कानिन्छ । सम्झनाहरू आँखा अगाडि आउँछन् । उनले भने, सात समुद्र टाढाका आफन्तसँग बर्सौँ टाढिएर बस्नुको पीडा जसले भोगेको छ उसलाई मात्र थाहा हुन्छ । भुटानबाट शरणार्थी भएर नेपाल छिर्दा उनि १८ वर्षको थिए । स–परिवार ट्रकमा कोचिएर नेपाल आएको स्मरण दीपकसँग ताजै छ । शरणार्थी जीवन, ठूलो परिवार धान्न गाह्रो भएपछि परिवारको जेठो छोरो दीपक कमाउनका लागि भारतको गुजरात लागे । उसबेला चिठीबाहेक खबर आदानप्रदान गर्ने माध्यम थिएन । यूएनएचसीआरले उहाँ गुजरात भएकै बेला शरणार्थी परिचयपत्र बनायो । उनले फोटो खिच्न पाएनन । फोटो नखिचेका पारिवारिक सदस्यलाई यूएनएचसीआरले पुनर्वास गराएन ।
गिरी मात्र होइन, ४७ वर्षीय विनोद सुवेदीको पीडा झनै टिठलाग्दो छ । आमाको एक्लो छोरो । बुबा बितेपछि उनि सानैमा टुहुरो भए । शरणार्थी भएर नेपाल आएपछि कमाउनका लागि भारतको बैङ्ग्लोर हानिनुभएका विनोद पनि फोटो खिच्ने बेलामा छुटे । विनोदकी आमा अहिले अमेरिकाको ओहायोमा बस्छन । विनोदले भने, सुरुमा श्रीमती र आमालाई खुसी राख्न कमाउनका लागि बैङ्ग्लोर गएँ । सोही कारणले फोटो खिच्न छुट्यो । म जान नपाउने भएपछि श्रीमतीले छोडपत्र दिएर आफू छोरीलाई पनि साथ लिएर अमेरिका हिँडिन् । सानैमा बुबाको मृत्यु, आमासँग छुटिनु, श्रीमतीसँग छोडपत्र हुनु अनि अहिले एक्लो जीवन बिताउनु विनोदका लागि कष्टप्रद छ । अझ चाडबाड आएपछि विनोद सम्हालिन सक्दैनन । सानै उमेरमा आमाले खोजेर बिहे गरिदिएकी केटीले छोडेपछि विनोदलाई फेरि बिहे गरौँ भन्ने पनि लागेको छैन । उनले भने , कुन दशैँ, कुन तिहार वास्तै लाग्दैन । बाबुबाजेले मान्दै आएको पर्व भएकाले एक जना सुवेदी दाईसँग चारगेडा अक्षता टाँसेर आउँछु ।
४० वर्षीय हिमा कार्की पनि १३ वर्षदेखि शिविरमा कहिले छोरा छोरीले बोलाउँछन् र उतै जाऊँ भनेर बाटो कुरिरहनुभएको छ । उनले भने, आफन्त भन्ने कोही छैन । भएका कोही भुटानमै छन् । कोही अमेरिका, कोही अस्ट्रेलिया कोही डेनमार्क । हिमाका बाबुआमा अमेरिकाको कोलोराडोमा बस्छन । दुई छोरी र एउटा छोरा बाबुआमा सँगै छन् । घरपट्टिका कोही भुटानमा छन् । कोही डेनमार्कमा । श्रीमान् कान्छी श्रीमती लिएर बेपत्ता भएको २२ वर्ष भयो । सानै उमेरमा विवाह बन्धनमा बाँधिएकी हिमाले भन्छन, चार दाजुभाइ थिए, एउटा कमाउन कोइलाखाद गएको उतै हरायो । एउटा डेनमार्कमा छ । दुई भाइ अमेरिकाको कोलोराडो बस्छन् । रुँदारुँदै आँसु सकिए । आफ्नो भाग्य नै खोटो सम्झियो, बस्यो । उनले थप्नुभयो, छोराछोरी अमेरिका आउनु भन्छन् । उडेर जान सक्दिनँ । फोटो खिच्ने बेलामा शिविरमा थिइनँ र लगेन । उनले चाडबाडमा सबैभन्दा आफन्तको याद आउने बताउए ।
५९ वर्षीय रेवती पौडेलका छोराछोरी, ज्वाइँ अस्ट्रेलियामा बस्छन । आफन्त कोही नभएकी पौडेल रोएरै दिन कटाउने बताउछन । उनले भने, माइतीहरू न्युजील्यान्डमा छन् । घरतिरका आफन्तहरू अमेरिका छन् । सबै कागजात हुँदाहुँदै पनि श्रीमान् जान नमानेपछि उनि शिविरमै छन । श्रीमान् पनि गत वर्ष बिते । त्यसपछि रेवतीलाई अँध्यारो र उज्यालो छुट्टाउन पनि गाह्रो भएको छ । उनले भने, छोराछोरी आफन्त सम्झियो, रोयो । चाडबाड आउँछन्, जान्छन्, वास्तै लाग्दैन । उनले गहभरि आँसु बनाउँदै भने ।
खासगरी काम गर्न शिविर छोडेर हिँडेका युवा र गैरशरणार्थीसँग विवाह गरेका महिलाहरू शरणार्थीको सूचीबाट हटेका छन् । जसको सङ्ख्या एक हजार ६४१ रहेको छ । पथरीशनिश्चरे शिविरका क्याम्प सचिव चम्फासिंह राईका अनुसार शरणार्थीलाई अहिले दैनिकी चलाउनसमेत कष्ट भएको छ ।
सङ्घर्ष र अभाव खेपेर शरणार्थी शिविरको छाप्रोभित्र जिन्दगी चलाएका भुटानी शरणार्थीहरू अहिले भन्छन्, शरणार्थीले कहिल्यै हाँसेर जीवन बिताउन नपाउने रहेछन् । हालसम्म एक लाख सात हजार ९४९ जना शरणार्थीको पुनर्वास भइसकेको छ ।

268 पटक हेरिएको 

