
काठमाडौँ : सप्तरीको राजगढ गाउँपालिका- २ कमलपुरमा प्रहरीले गोली प्रहार गर्दा एकजनाको मृत्यु भएको छ। मंगलबार राति मदिरा तस्करी रोक्न पुगेका प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको हो ।
राजगढ- २ का करिब ३६ वर्षीय लालु यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। गोली लागेर घाइते भएका उनको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ज्यान गएको हो ।
सीमा नजिकबाट ठूलो परिमाणमा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाबमोजिम ‘सर्च अपरेसन’ चलाउँदा स्थानीयवासीले अवराेध गरेपछि झडप भएको र स्थिति नियन्त्रणमा लिन केही राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।
यस क्रममा तिघ्रामा गोली लागेका यादवको मृत्यु भएको उनले जानकारी दिए। झडपका क्रममा एक प्रहरी पनि घाइते भएका छन् ।
यससँगै भारततर्फ तस्करी गर्न लागेको केही कार्टुन मदिरासमेत नियन्त्रणमा लिएको डीएसपी बस्नेतले जानकारी दिए ।

119 पटक हेरिएको 

