लाइन काटेर रु २३ लाख असुली

  Manaslu Post  814 पटक हेरिएको

दमौली, २३ कात्तिक । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले महशुल नतिर्ने ग्राहकको लाइन काटनुका साथै रु २३ लाख १४ हजार ७०८ असुल गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा विद्युत् महशुल नबुझाउने २३३ ग्राहकको लाइन काटेर उक्त रकम असुल गरिएको केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरण विद्युत महशुल सङ्कलन विनियमावली २०७३ को दफा ८ अनुसार मिटर रिडिङ गरेको २३आैँ दिनदेखि ३०आैँ दिनसम्म विद्युत् महशुल बुझाएमा पाँच प्रतिशत, ३१आैँ दिनदेखि ४०आैँ दिनसम्म १० प्रतिशत, ४१आै दिनदेखि माथि विद्युत् महशुल बुझाएमा २५ प्रतिशत थप दस्तुर लाग्नेछ । यस्तै विनियमावलीको दफा १०अनुसार मिटर रिडिङ गरेको ६०आै दिनसम्म विद्युत् महशुल नबुझाएमा विनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काटन सकिने व्यवस्था छ ।

बिग्रिएका मिटर बदली अभियान

उक्त केन्द्रले लामो समयदेखि बिग्रेका मिटर बदली गर्ने अभियान चलाएको छ । हालसम्म यस्ता बिग्रेका करीब २५० भन्दा बढी ग्राहकको मिटर बदलिएको र यसबाट नियमित महशुल सङ्कलन पनि वृद्घि भएको प्रमुख गोशलीले बताउनुभयो । चालु आव २०७५÷७६ मा यस्ता एक हजार थान मिटर बदली गर्ने उक्त केन्द्रको योजना छ ।(रासस)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार