आफ्नो दिमागी स्वास्थ्यको ख्याल राख्नुपर्छ– यो कुनै दिमाग लगाइराख्नुपर्ने कुरा होइन।
मार्चमा प्रकाशित एक तथ्यांकअनुसार ८७ प्रतिशत अमेरिकी उमेर बढ्दै जाँदा स्मरण शक्ति कमजोर हुँदै जाने र दिमागको क्षमता घट्नेमा चिन्तित छन्। तर, त्यसलाई नियन्त्रण गर्न हेरचाहको उपाय लगाउन सकिन्छ भन्नेमा ३२ प्रतिशतलाई मात्र विश्वास छ।
‘हामी सबै आफ्नो संज्ञानात्मक क्षमता यथासम्भव जोगाउन चाहन्छौँ,’ युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका न्युरोलोजिस्ट तथा स्ट्रोक विशेषज्ञ डा. सीमान्त चतुर्वेदी भन्छन्, ‘खुसीको खबर के हो भने जोखिमका कारकलाई कम गर्न सकिन्छ।’
स्वस्थ बानी विकास गर्नाले उमेर ७० र ८० नाघ्दा पनि महत्त्वपूर्ण कुरा सम्झिन सक्ने, गाडी चलाउन सक्नेलगायत अनेक गतिविधि गर्न सकिने उनी बताउँछन्।
त्यसका लागि के गर्ने त? न्युरोलोजिस्टहरूले सुझाएका उपाय यसप्रकार छन् :
दीर्घरोग नियन्त्रण गर्नुहोस्
तपाईंलाई उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल वा मधुमेह छ भने तिनलाई नियन्त्रणमा राख्न एकदमै जरुरी हुन्छ। यस्ता समस्याले दिमागको रक्तनली बिगार्ने जोखिम हुन्छ। जसले स्ट्रोक र डिमेन्सियाको खतरा बढाउने चतुर्वेदी बताउँछन्।
एक अध्ययनमा ४० देखि ६० वर्षसम्मका मानिसमा उच्च रक्तचाप देखिएका मानिसमा ७० नाघेपछि संज्ञानात्मक क्षमताको क्षयीकरण ६.५ प्रतिशतले तीव्र भएको देखिएको छ।
त्यसैले यी कुरा नियमित परीक्षण गर्नुपर्ने चतुर्वेदीको भनाइ छ।
‘तपाईं ३० वा ४० को हुनुहुन्छ र तपाईंको कोलेस्ट्रोल उच्च छ भने उपचार तत्काल गरिहाल्नुहोस्। ६५ पुगुञ्जेल वा हृदयाघात हुञ्जेल नपर्खिनुहोस्,’ उनी भन्छन्, ‘किनकि छिटै उपचार गरे या त हृदयाघात पछि सार्न सकिन्छ, या टार्न पनि।’
३० मिनेट कसरत गर्नुहोस्
हप्तामा केही दिन कसरत गर्दा तपाईंको सम्पूर्ण शरीरलाई फाइदा पुग्छ। जसमा दिमाग पनि पर्छ। नियमित कसरतले स्मरण शक्ति र संज्ञानात्मक प्रक्रियामा सुधार ल्याउने अध्ययनहरूले देखाएका छन्।
‘दिमागी स्वास्थ्यमा नियमित कसरतको फाइदा हामी थाहा पाउँदै छौँ,’ चतुर्वेदी भन्छन्, ‘डिमेन्सियाका सुरुवाती बिरामीहरूलाई समेत सातामा तीनदेखि पाँचपटक कसरत गर्न भनिन्छ।’
यल स्कुल अफ मेडिसिनकी न्युरोलोजीका सहप्राध्यापक डा. क्यारोलिन फ्रेडरिक्स जुनसुकै कसरत गरे पनि मुटुको धड्कन तेज हुनेगरी गर्न सुझाव दिन्छिन्।
पर्याप्त आराम गर्नुहोस्
पर्याप्त निद्रा नपुग्नु डिमेन्सियाको प्रमुख कारक रहेको रस युनिभर्सिटी मेडिकल सेन्टरका न्युरोलोजिस्ट डा. अगस्टो मिरावेल बताउँछन्।
अध्ययनका अनुसार ५० र ६० को उमेरमा ६ घण्टा वा सोभन्दा कम मात्र सुत्ने व्यक्तिहरूमा डिमेन्सियाको सम्भावना ७ घण्टा सुत्नेहरूको तुलनामा ३० प्रतिशत ज्यादा हुन्छ।
अर्को अध्ययनले निदाउन मुस्किल पर्ने मानिसहरूमा डिमेन्सियाको जोखिम ५१ प्रतिशतले बढ्ने देखाएको छ।
त्यसैले मिरावेल निद्रासम्बन्धी स्वास्थ्य सुधार्न समय लगानी गर्न सुझाउँछन्। त्यसका लागि क्याफिन वा अल्कोहलबाट टाढा बस्न, दिउँसो नसुत्न र ओछ्याउनमा जानुअघि नै विद्युतीय सामग्री बन्द गर्न उनको सुझाव छ।
त्यसले पनि काम नगरे विशेषज्ञसँग सल्लाह लिन उनको आग्रह छ।
खानामा ख्याल गर्नुस्
फ्रेडरिक्स आफ्ना बिरामीलाई सधैँ खानामा ख्याल गर्न सुझाउँछिन्। फलफूल, सागपात, अप्रशोधित अन्न, माछा, काजु, बदाम, ओखर, बियाँ र स्वस्थ चिल्लो पदार्थमा जोड दिने ‘मेडिटेरेनियन डाइट’ अपनाउनुपर्ने उनको भनाइ छ।
यीमध्ये कुनै एक खाना मात्र नभई सबैमा जोड दिनुपर्ने उनी बताउँछिन्।
ट्रान्स फ्याट र अत्यधिक नुन खान नहुने मिरावेल बताउँछन्।
आफ्नै दिमागलाई चुनौती दिनुहोस्
मान्छेहरू डा. रोय ह्यामिल्टनलाई सोधिरहन्छन्– दिमागलाई तेज राख्ने सबैभन्दा राम्रो गतिविधि कुन हो? हरेक दिन सुडोकु खेल्दा हुन्छ? भिडिओ गेमले पो राम्रो गर्छ कि?
युनिभर्सिटी अफ पेन्सलभेनियाका प्राध्यापक उनी केही मार्गनिर्देश मात्र दिन्छन् र आफ्नै दिमागलाई चुनौती दिन सुझाउँछन्।
तर, त्यस्तो चुनौती ज्यादा सजिलो भयो भने फाइदा कम र ज्यादा कठिन भयो भने फाइदा लिनुअघि नै हार मान्ने सम्भावना हुनसक्ने उनको भनाइ छ।
कुनै एक काममा लाग्नुभन्दा गेम खेल्ने, नयाँ भाषा सिक्ने, क्लासिक पुस्तकहरू पढ्नेजस्ता विविध गतिविधि गर्नुपर्ने उनी बताउँछन्।
‘हरेक दिन पहेली सल्ट्याएर मात्र हुँदैन। दिमाग त्योभन्दा निकै जटिल छ,’ उनी भन्छन्, ‘जसरी पोषणविद्ले कुनै एउटा खाना मात्र खाइराख्न भन्दैन, त्यसैगरी दिमाग स्वस्थ राख्न पनि सन्तुलित गतिविधि गर्नुपर्छ।’
साथीहरूसँग गफ गर्नुहोस्
अरु मान्छेको साथ कति समय बिताउने? यसको कुनै निश्चित मापदण्ड छैन। तर, अध्ययनहरूले सामाजिक सम्बन्धले दिमागमा सकारात्मक असर पार्ने देखाएका छन्।
एउटा अध्यनमा ७० देखि ९० वर्षबीचका वृद्धहरूमा सामाजिक अन्तक्र्रिया गरेको कुनै खास दिन र त्यसपछिका दुई दिनमा संज्ञानात्मक क्षमता अन्य दिनभन्दा ज्यादा देखिएको थियो।
‘हाम्रो दिमाग एक्लै बस्नका लागि बनेको होइन,’ फ्रेडरिक्स भन्छिन्।
सामाजिक जीवनलाई राम्रो बनाउन पुराना साथीहरूसँग सम्पर्क गर्ने, कुनै क्लब वा समूहमा सामेल हुने वा टाढा रहेका परिवारका सदस्यसँग भिडिओ च्याट गर्नुपर्ने उनको सुझाव छ।
बियर र चुरोट छाड्नुहोस्
ज्यादा मदिरापान दिमागी स्वास्थ्यका लागि राम्रो होइन। यसले स्मृति, निर्णय क्षमता, सनक नियन्त्रणजस्ता कार्यमा बाधा पार्न सक्छ।
‘तपाईंले जति अधिक मात्रामा पिउनुभयो र जति लामो समयसम्म पिउनुभयो, तपाईंको दिमागका लागि त्यति नराम्रो हो,’ ह्यामिल्टन भन्छन्।
धुम्रपान पनि यत्तिकै खतरनाक हुन्छ। यसले दिमागी क्षमता घटाउँदै लैजान्छ भने स्ट्रोकको जोखिम बढाउँछ।
‘एकपटक चुरोट छाड्ने प्रयास गरेर असफल हुनुभएको छ भने पनि निराश नहुनुस्। छाड्ने कोसिस गरिराख्नुस्। किनकि अलिअलि मात्र धुम्रपान गर्दा पनि त्यसले खराबी नै गर्छ,’ ह्यामिल्टन भन्छन्।
प्रदूषित वातावरणमा मास्क लगाउनुस्
वायु प्रदूषणले आँखा पिरो र खोकीको समस्या ल्याउने सबैलाई थाहै छ। अझ आश्चर्यजनक कुरा यसले डिमेन्सिया लाग्ने सम्भावना पनि बढाउँछ।
अमेरिकामा जुन क्षेत्रमा ज्यादा वायु प्रदूषण छ, त्यहाँ बढी डिमेन्सिया देखिने मिरावेलको भनाइ छ।
तनाव कम गर्नुस्
दिमागी स्वास्थ्य रक्षा गर्ने एउटा प्रभावकारी उपाय भनेको तनाव कम गर्नु भएको ह्यामिल्टन बताउँछन्। तर, त्यो सजिलो नभएको उनी स्वीकार्छन्।
‘मेरो विचारमा २१औँ शताब्दीमा यो सबैभन्दा कठिन काम हो,’ उनी भन्छन्, ‘तर, निरन्तर तनाव दिमागी स्वास्थ्यका लागि राम्रो नभएको अध्ययनले देखाउँछन्।’
उदाहरणका लागि एक अध्ययनले उच्च तनाव हुने मान्छेमा संज्ञानात्मक समस्या आउने सम्भावना ३७ प्रतिशतले बढी हुन्छ।
केही मानिसहरू तनाव कम गर्न योग–ध्यान, माइन्डफुलनेस, मसाजजस्ता उपाय अपनाउँछन्। ह्यामिल्टन आफैँ भने बिहान ५ बजे नै उठेर जिम जान्छन्।
‘म ज्यानको लागि भन्दा पनि तनावाका लागि जिम जान्छु,’ उनी भन्छन्।
आफूलाई शान्ति दिने कुनै क्रियाकलापको खोजी गर्नुस् र त्यसमा समय दिनुस्। जसले टुप्पीदेखि पैतालासम्म फाइदा गर्नेछ। टाइमबाट