
मन बहादुर पुन
काठमाडौ । नेपाल मगर बिधार्थी संघ, केन्द्रीय समितिको आयोजनामा नेपाली गीत संगीतका लोकप्रिय सदावहार गायक अरुण थापा मगरको सम्झनामा सांगीतिक कार्यक्रम हुने भएको छ । २६ औं अरुण स्मृति दिवस २०८२ को अवसर पारेर नेपाल मगर बिधार्थी संघ, केन्द्रीय समितिले स्व. अरुण थापा मगर स्मृति दिवस–सांगीतिक कार्यक्रमलाई निरन्तरता दिने भएको हो । कार्यक्रम साउन ५ गते मंगलबार दिउँसो १ बजे राष्ट्रिय नाचघर जमल हुने जनाइएको छ ।
गीत संगीतमार्फत सदावहार गायक अरुण थापामगर प्रति सम्झना, सम्मान र श्रद्धाञ्जली प्रकट गर्ने कार्यक्रम तय भएको नेपाल मगर बिधार्थी संघ, केन्द्रीय समितिका अध्यक्ष राजु पुन मगरले बताए । पुनमगरका अनुसार सो कार्यक्रम राष्ट्रिय नाचघर जमल काठमाडौमा सम्पन्न गरिने तयारी रहेको छ । नेपाल मगर बिधार्थी संघ, केन्द्रीय समितिले हरेक बर्ष निरन्तर स्व. अरुण थापा मगरको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम गर्दै आएको छ भने यो वर्ष पनि यसलाई निरन्तरता दिएको नेपाल मगर बिधार्थी संघका महासचिव याम बहादुर रोका मगरले बताए ।
कार्यक्रममा गीतसंगीत क्षेत्रमा विशिष्ठ योगदान दिएका र गीतसंगीतका विशिष्ठ पारखीहरुको भौतिक उपस्थिति रहने संघका अध्यक्ष राजु पुन मगरले जनाएका छन ्।
अरुण सांगीतिक कार्यक्रममा सांस्कृतिक संस्थान र नेपाल मगर सांस्कृतिक संघको प्रस्तुती रहनुको साथै स्व. अरुण थापा मगरमा समर्पित गीति नाटक प्रदशनी हुनुको साथै विपिन घिमिरे, दिपेन्द्र बर्जाचार्य, तिर्थ राज पोख्रेल, गायत्री राना मगर, राम भजन कामत, टिका मगर, शिला विष्ट, सुक्रीमाया मोक्तान, राधिका भण्डारी, सवनम सिलवाल, गेम थापा मगर, लोकराज राइ, नरेश प्रजापति, नरसिलाल श्रेष्ठ,दुर्गा प्रसाद खतिवडा र सीतामैया राजचलको बिषेश प्रस्तुती रहने छ ।
अरुण थापा मगरको जन्म विक्रम सम्बत २००८ सालमा भारतको कलकत्तामा भएको थियो । उनको मृत्यु २०५६ साउन ५ गते भएको थियो । अरुण थापा मगर ३ वर्षको हुँदा उनको परिवार नेपाल बसाईं सरेर बस्न थालेको हो उनी नेपालमै हुर्किए । स्वर सम्राट नारायण गोपाल र गोपाल योन्जन उनका पारिवारिक मित्र थिए । प्रेम र बिबाह दुबैमा असफल गायक थापामगरका अनेकौं किस्सा सुन्नमा पाइन्छ । उनको व्यक्तिगत जीवन छोटो भए पनि सांगीतिक जीवन भने अमर अजर रहेको छ ।

443 पटक हेरिएको 

