काठमाडौं । चुमनुव्री गाउँपालिका वडा नं ७ छेकम्पार निलेगाँउ चुम उपत्यका गोरखामा जन्मिएका राष्ट्र, समाजको समग्र बिकास, संस्कृति उत्थान एवं रुपानतरणको लागि निरन्तर लागि रहेका समाजसेवी , सामाजिक तथा अहिंसा संस्कृतिका अभियन्ता गोरखाका निमा लामा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले प्रदान गर्ने कन्जरभेसन अवार्ड (संरक्षण पुरस्कार)२०१९ बाट पुरस्कृत भएका छन् ।
आइतबार डब्लुडब्लु एफ नेपालको २६ औं राष्ट्रिय दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई नेपालका लागि अमेरिकी राजदूत र्यािण्डी बेरी र डब्लुडब्लु एफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले पुरस्कार प्रदान गरे । यो पुरस्कारको राशी ५० हजार रुपैयाँ छ ।
चुम कल्याण समितिका अध्यक्ष र हिमाली समुदाय जलवायुमैत्री संगठनका उपाध्यक्ष नीमा लामाले चुम्चेत र छेकम्पार गाविसलाई अहिंसा क्षेत्र घोषणा गरी वन्यजन्तु र जैविक विविधता संरक्षणमा योगदान पु¥याएवापत पुरस्कृत गरिएको डब्लुडब्लुएफ नेपालले जानकारी दिएको छ ।
अहिंसा संस्कृतिका अभियन्ता लामाको अगुवाईमा २०६९ सालमा चुम उपत्यकामा अहिंसा महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा स्थानीय वासिन्दाले लिखित रुपमा नै पशु काटमार नगर्ने, शिकार नखेल्ने, मह नकाड्ने, डढेलो नलगाउने, बुढो भइ काममा नआउने पशुको हत्या नगर्नेलगायतका लिखित प्रतिवद्धता जनाएका थिए । चुम उपत्यका चार किल्ला तोकेर अहिंसा क्षेत्र घोषणा गरिएको नेपालको एकमात्र क्षेत्र हो ।
‘उनको प्रयासको नतिजास्वरुप छेकम्पार नजिकैको चुम्चेतलाई गैह्र हिंसा क्षेत्रको रुपमा घोषणा गरिएको छ, उनले दुई दशकसम्म नेपाल सरकारसँग चुम उपत्यकामा पर्यटनमा लगाइएको रोक हटाउन प्रयास जारी राखेका थिए’ डब्लुडब्लुएफले भनेको छ ।
MANASLU TV

1273 पटक हेरिएको 

