काठमाडौं । भुटानकी नायिका उगेन छोदनले अभिनेता दयाहाङ राईको नेपाली चलचित्र हेर्दै आएकी थिइन् । जब उनी दयाहाङको नायिकाकी रूपमा नयाँ चलचित्र ‘२ नम्बरी’मा अनुबन्धित भइन् । उनीमा खुसीको सीमा रहेन । यी अभिनेत्री यतिबेला काठमाडौंमा छिन् । नेपाली चलचित्रमा अभिनय गर्न उनी नेपाल आएकी हुन् ।
थोरै तर अन्तर्राष्ट्रियस्तरका फिल्म बन्ने भुटानकी अभिनेत्री उगेनले यो आधा दशकमा त्यहाँ ८ भन्दा बढी फिल्ममा नायिकाको रूपमा काम गरिसकेकी छन् । यसै साताबाट छायांकन सुरु हुने नेपाली चलचित्र २ नम्बरीमा अनुबन्धित भएपछि यी अभिनेत्रीले बिहीबार सञ्चारकर्मीसँग भनिन्, ‘भुटानमा भुवन केसी, राजेश हमाल, दयाहाङ राईदेखि अहिलेका नायकहरू सबैको फिल्म खुब हेरिन्छ । तर, आज नेपाली फिल्ममा नायिका बन्न पाउँदा मलाई साह्रै खुसी लागेको छ र यसमा भुटानीहरू पनि खुसी भएका छन् ।’
यो चलचित्रबाट नेपाल र भुटान अझ जोडिने विश्वास यी अभिनेत्रीको छ । त्यहाँ सिनेमा हलमा नेपाली फिल्म सोझै देखाउन नपाइने भए पनि जोङ्खा भाषामा स्वरांकन गरेर यो फिल्म देखाउन सकिने पनि अभिनेत्री छोदेनको कथन छ ।
अभिनेता दयाहाङ राईले पनि भुटानकी अनुभवी र कुशल अभिनेत्री छोदेनको नायक भएर चलचित्रमा काम गर्न पाउँदा खुसी लागेको बताए । छोदेनका फिल्महरू विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत भएको र अन्तराष्ट्रियस्तरमै चर्चा कमाएकी नायिकासँग काम गर्न आफू उत्साहित रहेको पनि अभिनेता दयाहाङले बताए ।
चलचित्र २ नम्बरीलाई दीपेन्द्र लामाले निर्देशन गर्दै छन् । तीन वर्षअघि अभिनेत्री उगेन छोदेन नेपालमा फिल्म महोत्सवमा आएकी थिइन् । निर्देशक लामा र छोदेनको सोही क्रममा भेट भएको थियो । छोदेनले त्यतिबेला नै नेपाली चलचित्र खेल्न इच्छा गरेको र अहिलेको चलचित्रमा उगेनजस्तै चरित्र चाहिएकाले नायिकाको रूपमा लिएको निर्देशक दीपेन्द्रले बताए ।
यो चलचित्रमा उगेन र दयाहाङसँगै वर्षा राउत, पल शाह, बुद्धि तामाङ, पुष्कर गुरुङलगायतका कलाकारको अभिनय रहनेछ । यो चलचित्रलाई सुसन प्रजापतिले खिच्दै छन् । चलचित्र २ नम्बरीको यसै साताबाट लमजुङदेखि छायांकन सुरु हुनेछ । यो चलचित्रलाई किरण नेपालीले निर्माण गर्दै छन् । किरणले यसअघि चलचित्र ‘पोइ प¥यो काले’ निर्माण गरेका थिए ।

1248 पटक हेरिएको 

