लकडाउनको बेलामा नेता सिटौलाका छोराको बिहे: मुखमा मास्क, चार जना जन्ती

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  1254 पटक हेरिएको

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका एक्ला छोरा श्यामप्रसाद सिटौलाले आइतबार विवाह गरे।

अक्षय तृतीयाका दिन बिर्तामोडकी मनिषा विमलीसँग श्यामले बिहे गरेका हुन्।

तीन महिनाअघि हिजोका लागि बिहे मिति तोकिएकोले पूर्वनिर्धारित लगनमै बिहे गरेको सिटौलाले बताए।

‘लकडाउनको बेला सामाजिक दूरी कायम गरेर छोराको बिहे गरियो,’ सिटौलाले  भने।

सिटौला झापाका स्थानीय बासिन्दा हुन्। उनका छोराले झापा नै घर भएकी र भारतमा पढ्दै गरेकी मनिषासँग बिहे गरेका हुन्। बिहेमा आफूसहित चार जना जन्ती र दुलहा एउटा गाडीमा गएको उनले बताए। दुलहीका घरमा पनि १० जनामात्रै भेला थिए।

‘धुमधामसँग बिहे गर्ने अहिले बेला छैन। लकडाउन छ। पहिले नै बिहेको मिति तय गरेकोले सारेनौं,’ सिटौलाले  सेतोपाटीसँग भने।

जन्ती गएकाहरूको मुखमा मास्क र हातमा सेनिटाइजर थियो।

अलि खल्लो हुने रहेछ। धेरैको बिहेमा निम्ता मान्न गइयो। तर आफ्नोमा बोलाउन सकिएन,’ सिटौलाले भने, ‘साधारण हिसाबले  छोराको बिहे गरियो। खर्च गरिएन। एउटा पसलबाट साडी र सिन्दुर किनेर ल्याएका थियौं।’

सिटौलाका छोरा श्यामले बिहे खर्च कोरोना कोषलाई हस्तान्तरण गरेका छन्।

‘साधारण अवस्थामा भएको भए बिहेको भोलिपल्ट आज घरमा भोज पाक्थ्यो। इष्टमित्र, साथीभाइ भेला हुन्थे,’ सिटौलाले भने, ‘बिहान घर सल्लाह गरेर बिहे खर्च कोरोना कोषलाई दिने निर्णयमा पुग्यौं।’

उनले आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तहलाई बिहे खर्चबापतको रकम हस्तान्तरण गरिएको जानकारी दिए।

‘पाँच लाख स्थानीय सरकारको राहत कोषमा राखिदिएका हौं,’ सिटौलाले भने।

भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, बाह्रदसी गाउँपालिका, हल्दिवारी गाउँपालिका, विर्तामोड नगरपालिका वडा नम्बर १० लाई राहत रकम दिइएको उनले बताए।

कोरोनाभाइरस संक्रमण कहिलेसम्म देखिने र लकडाउन कहिले खोल्ने भन्ने निश्चित नभएकोले तोकिएकै मितिमा बिहे गरिएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार