काठमाडौं । रसियामा आयोजित १९औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा नेपालको बहुपति प्रथाका बारेको वृत्तचित्र चलचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड)ले प्रथम पुरस्कार जितेको छ । यसअघि भाग्यले बाँचेकाहरू वृत्तचित्रमार्फत संसारभर चर्चा कमाएका निर्देशक पाण्डेको ‘सहायक श्रीमान्’ नयाँ वृत्तचित्र हो ।
रसियामा अगस्ट २३ देखि २९ तारिखसम्म चलेको यो फेस्टिबलमा सहायक श्रीमान्लाई रसिया, अमेरिकालगायतका देशका चर्चित चलचित्रकर्मी सहभागी निर्णायक मण्डलले फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै प्रथम पुरस्कार स्वरुप ग्रान्ड प्रिक्स अवार्ड प्रदान गरे । विभिन्न देशका फिल्म प्रतिस्र्धामा रहेका यस महोत्सवमा बेलायतको फिल्म दोस्रो र पोर्चुगलको फिल्म तेस्रो भएको थियो ।
यो वृत्तचित्रले गत वर्ष अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट अवार्डसहित १ हजार अमेरिकी डलर जितेको थियो । सहायक श्रीमान्का निर्देशक पाण्डेले जुममार्फत अवार्ड समारोहलाई सम्बोधन गर्दै यो नेपाल र नेपाली युवा चलचित्रकर्मीहरूका लागि ठूलो सम्मान भएको बताए ।
बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् ।
चार वर्षको छायांकनपछि तयार भएको यो वृत्तचित्र साइन मिडिया प्रालिले निर्माण गरेको हो । यसका लेखक पनि निर्देशन पाण्डे नै हुन् । जसमा जुगल डंगोलको पाश्र्वसंगीत रहेको छ ।

1174 पटक हेरिएको 

