काठमाडौं । दक्षिणी इजरायलको मरुभूमिमा हप्ता दिनसम्म चल्ने संगीत महोत्सव ‘सुपरनोभा’को लागि संगीतप्रेमी उत्साहका साथ पर्खिरहेका थिए । ‘सबै परिवार एक हुने समय आयो’ महोत्सव सुरु हुनुअघि आयोजकले सामाजिक सञ्जालमा लेखेका थिए, ‘यो निकै रमाइलो हुन गइरहेको छ ।’
स्टाटस लेखेको केही घण्टामै अब उनीहरुका सोसल मिडियाका पृष्ठ प्रियजन खोज्न हतास मानिसले भरिएका छन् । हमासका लडाकुले जब संगीत महोत्सवमा फायरिङ गरे र इजरायलमाथि आकस्मिक आक्रमण गरे, तब उत्साहको यो लय भताभुंग भयो ।
उद्धार एजेन्सी जाकाका अनुसार महोत्सव स्थलबाट २६० भन्दा बढी शव फेला परेको बताइएको छ । ओर्टेल नामको एक संगीतप्रेमीले भनिन्, ‘बिहानैदेखि वरपर चेतावनीपूर्ण साइरन बजिरहेका थिए । त्यसपछि तुरुन्तै गोली चल्न थाल्यो । उनीहरुले बिजुली बन्द गरे र चारैतिरबाट गोली चलाउँदै अचानक कतैबाट बन्दुक लिएर भित्र पसे ।’
उनले अगाडि भनिन्, ‘सैनिक पोशाक लगाएर ५० आतंककारी भ्यानमा आइपुगे । मानिस घटनास्थलबाट भाग्ने प्रयास गरे । बालुवा भएको जमिन पार गरेर भाग्न कारमा चढे । तर पार्टीमा जानेले चाहिं त्यहाँ बन्दुकधारीले भरिएका भ्यान भएको बताएका थिए । त्यहाँ पुग्दा उनीहरुले कारमा गोली हाने । उनीहरूले गोली चलाए, र हामी एउटा ठाउँमा पुग्यौं जहाँ सबैले आ–आफ्ना सवारी रोके र दौडिन थाले । झाडीजस्तै देखिने एउटा रुखमा पुगें म । त्यसपछि उनीहरुले हामीतिर बन्दुक सोझ्याउन थाले । मैले घाइते मानिस वरपर फ्याँकिएको देखें । म रुख पछाडि थिएँ । अनि के भइरहेको छ भनेर बुझ्ने कोसिस गरें ।’
महोत्सव स्थल किबुट्ज रेइम नजिकैको नेगेभ मरुभूमिमा थियो । बार र फुडसहितका तीन मञ्च थिए । यो ठाउँ गाजाबाट त्यति टाढा छैन, जहाँबाट हमास लडाकुहरु एकाबिहानै इजरायल छिरेका थिए ।
ओर्टेलजस्ता संगीत महोत्सवमा पुग्ने धेरैले सेनाले उद्धार गर्ने आशामा घण्टौंसम्म झाडी र फलफूल बगैंचामा लुकेर ज्यान जोगाए । ‘मैले फोनलाई म्युट मोडमा राखें, र त्यसपछि सुन्तलाको बगैंचा हुँदै घिस्रिएर भाग्न खोजें,’ ओर्टेलले भनिन्, ‘बलिरहेको आगो आवाज निकाल्दै मेरो माथिबाट उडिरहेको थियो ।’
अर्को प्रत्यक्षदर्शीले च्यानल १२ सँग भने, ‘यो कुनै डरलाग्दो चलचित्रको चार(पाँच घण्टाजस्तै थियो । हामी पागलजस्तै दौडियौं । अवस्था कुन पागलपनजस्तै थियो ।’
‘यो एक नरसंहार थियो’ उक्त संगीत पार्टीमा बोलाइएका आपतकालीन चिकित्सक यानिभले भने । उनले सार्वजनिक प्रसारक कान न्युजसँग भने, ‘मैले मेरो जीवनमा यस्तो कहिल्यै देखेको थिइनँ । यो एक योजनाबद्ध एम्बुस थियो । जब मानिस आपतकालीन ढोकाबाट बाहिर निस्किए, आतंकवादीको समूह उनीहरुलाई पर्खिरहेका थिए । त्यसपछि उनीहरुलाई उठाउन थाले ।’
उक्त महोत्सवमा तीन हजार मानिस सहभागी भएको सीएनएनले जनाएको छ । यो महोत्सवबारे हमास लडाकु पनि जानकार भएको जनाइएको छ । बेपत्ता प्रियजनका साथी र परिवारका सदस्य अब उनीहरूलाई भेट्टाउने आशामा छन् ।
स्थानीय सञ्चारमाध्यमको पछिल्लो तथ्यांकअनुसार आक्रमण सुरु भएदेखि कम्तीमा ६०० इजरायली मारिएका छन् । इजरायली सेना र प्यालेस्टिनी लडाकुबीचको लडाइँ जारी छ, र इजरायलले गाजामा हवाई आक्रमणको लहर सुरु गरेको छ । प्यालेस्टिनी अधिकारीले भनेका छन्, आक्रमणमा कम्तीमा ४१३ जनाको मृत्यु भएको छ ।