१९ फागुन, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ग्रामीण भेगमा रहेका किसान व्यवसायीहरुलाई वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले विपन्न वर्ग कर्जा शुरुवात गरेको छ ।
कैलालीको अत्तरियामा “वित्तीय जागरण : राष्ट्रिय अभियान” कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकको अत्तरिया शाखाका ग्राहक कुमारी दमाईलाई कुखुरा पालन व्यवसाय गर्न रु. सात लाखको कर्जा स्वीकृत पत्र हस्तान्तरण गरि उक्त विपन्न वर्ग कर्जा सेवाको शुभारम्भ गरे।
सोही कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले नेपाल राष्ट्र बैंकले तोकेको विपन्न वर्गमा लगानी गर्नु पर्ने २ प्रतिशत प्रत्यक्ष लगानी यसै आर्थिक वर्षको अन्तसम्ममा पुर्याउने गरि सबै कार्यविधिहरु पुरा गरिसकेको र ग्रामीण भेगका साना किसान लघु उद्यमी/व्यवसायीमा सरल सहज वित्तीय पहुाचका लागि सेवा सुरुवात गरिएको जानकारी दिए ।
यो सेवाबाट ग्रामीण भेगमा केही गरौं भन्ने र जागर भएका तर व्यवसाय गर्न पूँजीको अभाव भएका साना व्यवसायी, किसान एवं महिलाहरुलाई बैंकका सबै शाखा कार्यालयहरुबाट सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

901 पटक हेरिएको 

