न्यायको आस, हामीलाई पनि मारिदेऊ सरकार !

  मनास्लु पोष्ट  919 पटक हेरिएको

छोरी निर्मला पन्तको हत्या भएको खबर पाएको शव देखेको अवस्था स्मरण गर्दै बिहीबार बाबु यज्ञराज पन्तका आँखा रसाउन छाडेनन्, उनी भक्कानिएको दृश्यले पत्रकार नै मार्मिक भए । सनी खुनाको ज्यान जानेगरी भएको राज्यको दमन र एक जनाको खुट्टै काट्नेगरी भएको आन्दोलनतिर फर्किंदै उनले भने, ‘न्याय माग्दा सजाय पाइन्छ भने सरकार न्याय चाहिएन हामीलाई पनि गोली ठोकेर मारिदेऊ !’

आमा दुर्गा पन्तले त राष्ट्रपति विद्यादेवी भण्डारीको नामै लिएर भनिन्, ‘तपाईंकी पनि छोरी छन् तर अन्याय निर्मलालाई मात्र किन ? राष्ट्राध्यक्ष महिला हुँदा छोरीको न्यायमा तपाईं किन चुप ?’ उनीहरूले संयुक्त रूपमा भने, ‘हामी न्यायको आशमा राजधानी आएका हौं, न्याय नपाएसम्म जानेछैनौं ।’ निर्मलाको आत्माको शान्ति र न्यायको माग गर्दै बाबुआमासँगै अधिकारकर्मीले साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन पनि गरे । यज्ञराजले त्यहाँ पनि आँशु थाम्न सकेनन् ।

बुधबार राजधानी आइपुगेका निर्मलाका बाबुआमा र कञ्चनपुरका महिला अधिकारकर्मीहरूका अनुसार निलम्बित एसपी डिल्लीराज विष्ट र उनी मातहतका प्रहरीले योजनाबद्ध रूपमै प्रमाणहरू नष्ट गरेको देखिन्छ । प्रमाण नष्ट गर्न भूमिका खेलेका प्रहरी अधिकारीहरूलाई तत्काल गिरफ्तार गरेर कारबाही प्रक्रिया सुरु गर्न माग गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्मलाका बुबाआमा र यज्ञराजले अपराध लुकाउन खोज्ने प्रहरीहरू खुलेआम हिँडिरहेको भन्दै न्याय पाउनेमा शंका व्यक्त गरेका हुन् । निर्मला पन्तको घटनामा अनुसन्धान गर्न जिल्लाका प्रहरीलाई माथिबाटै सहयोग नगर्न भनिएको परिवारले आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा निर्मलाका बुबाले बम दिदीबहिनीले सहयोग गर्नुपर्नेमा सान्त्वनासमेत नदिएको बताए । यज्ञराजले निर्मलाको बलात्कार र हत्या घटनामा प्रहरीले प्रमाण नष्ट गर्न गरेका गतिविधिको दृष्टान्त पेस गर्दै अहिलेसम्म उनीहरू खुला हिँडिरहेको प्रति आश्चर्य जनाए । उनले निर्मला हराएकै दिन विभिन्न प्रहरी चौकीमा खबर गरे पनि प्रहरी नआइदिएको प्रहरी घटनास्थलमा जान तयार भए पनि एसपी डिल्लीराज विष्टले रोकिदिएको बताए । उनले बम दिदीबहिनीको घरमा प्रहरीले समेत आफूहरूलाई भित्र पस्न नदिएको बताए ।
यज्ञराजले प्रश्न गरे, ‘म नेपाली नागरिक हुँ कि होइन ?, शान्तिपूर्ण ढंगले कारबाही गर भन्दा गोली किन हानियो ?’ आफूहरूले छोरीका लागि न्याय मागेको बताए । प्रहरीले नै प्रमाण संरक्षण गर्नुको साटो मेटाएको देखिएकाले घटना केही समयपछि सामसुम हुने सन्देह गर्नु अस्वाभाविक होइन ।

निर्मला हत्याकाण्डको विषय प्रतिनिधिसभामा उठेपछि सभामुखले सरकारलाई सदनमा जानकारी दिन आदेश दिएका छन् । विपक्षी दलका सदस्यले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेपछि सभामुखले सरकारलाई आदेश दिएका थिए । विपक्षी सांसदहरूले ‘दोषीलाई सरकारले संरक्षण गरेको’ आरोप लगाएका छन् । सायद यही कारणले प्रहरीले प्रमाण मेटाउने प्रयास गरेको हुनुपर्छ । निर्मलाको शव जलाउन हतार गर्ने मामा भनिएका व्यक्ति, घटनास्थलमा निर्मलाको शरीरबाट रगत र सम्भवतः वीर्य पखाल्ने महिला तथा मारिनुभन्दा पहिले निर्मला गएको घरका बासिन्दा र छरछिमेकीहरूसँग प्रहरीले राम्ररी सोधपुछ गरिएको भए त रहस्य पत्ता लाग्नुपर्ने हो ।

प्रहरीले पहिलेदेखि जेल बसेको मान्छे खोजेको भन्दै सही तवरले छलफल र अनुसन्धान नगरेको बताए ।
आफूलाई जबर्जस्ती किटानी दिन लगाएको पन्तले बताए । ‘मैले त्यहिबेला यो विषयमा प्रहरीलाई भन्दा उल्टै प्रहरीले थर्कायो, हामीलाई सीआईडी लगाएर हाम्रो फलो गरिएको छ,’ उनले भने । उनले आफ्नो घरमा प्रहरीले गरेजति खानतलासी अपराधीका घरमा गरेको भए अपराधी पत्ता लागि सक्ने बताए । ‘हामीले न्याय माग्दा कस्तो गल्ती ग¥यौं ?’ उनले प्रश्न गरे ।

फेरि सुरु भयो आन्दोलन

निर्मलाका हत्या घटनामा संलग्नलाई कारबाहीको माग गर्दै सुरुवातबाटै आन्दोलनरत आमा समूह फेरि आन्दोलित बनेका छन् । निर्मला हत्याकाण्डको विरोधमा महिला दबाब समूहले बिहीबार सदरमुकाम महेन्द्रनगरको स्थानीय मदनचोकमा थाली बजाएर प्रदर्शन गरेका छन् ।
महिला अधिकारकर्मी, स्थानीय र नेविसंघले चरणबद्ध आन्दोलन बिहीबारदेखि सुरु गरेको छ । सरकारले उच्चस्तरीय छानबिन समितिलाई काम गर्न दिने भन्दै यसअघि आन्दोलन रोकिएको थियो । तत्काल अपराधी पत्ता नलाग्नु र प्रमाण नष्ट गर्नेमाथि कारबाही नहुनुले महेन्द्रनगरमा आक्रोश बढ्दै गइरहेको महिला दबाब समूहकी संयोजक हेलन श्रेष्ठले बताइन् । प्रदर्शनमा स्थानीय महिलाहरू खाना खाने थाल र चम्चासहित सडकमा उत्रेका छन् । दबाब समूहले स्थानीय मदनचोकमा धर्ना दिएका छन् ।

समितिले समेत तोकिएको म्यादसम्म सत्यतथ्य बाहिर नल्याउनु र अहिलेसम्म हत्यारा सार्वजनिक हुन नसकेपछि पुनः दबाबमूलक आन्दोलनका कार्यक्रम सुरु गरिएको समितिकी संयोजक श्रेष्ठले बताइन् ।
‘निर्मलाका हत्यारा पक्राउ र निर्मलाले न्याय पाउनुपर्ने हाम्रो सुरुदेखिको माग हो, ‘माग पूरा नभएसम्म आफूहरूको आन्दोलन निरन्तर जारी रहन्छ,’ उनले भनिन् ।

यथाशीघ्र निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाही गर्नुपर्ने, दिलीपसिंह विष्टलाई फसाउन खोज्ने अनुसन्धान अधिकृत र आन्दोलनका क्रममा गोली हान्ने प्रहरीलाई बर्खास्त गर्नुपर्ने लगायतका माग अघि सारेको बताए ।
नेविसंघ कञ्चनपुरले ३० भदौसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
नेविसंघले प्रधानमन्त्रीले निर्मला हत्याबारे दिएको अभिव्यक्ति सच्याइनुपर्ने, घाइतेहरूको उपचारमा ध्यान दिइनुपर्ने, दिलीपसिंह विष्टलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने लगायतका मागसमेत राखेको छ ।
भीमदत्त नगरपालिका–२ उल्टाखामकी निर्मला गत १० साउनदेखि बेपत्ता भएकी थिइन् । बेपत्ता भएकी उनको शव भोलिपल्ट गाउँनजिकैको उखुबारीमा नग्न अवस्थामा भेटिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार