मालिकले बलात्कार गरेपछि बच्चा जन्मियो, वास्ता नगरेपछि बिचल्ली

MANASLU TV मा subscribers गर्नुहोला ।

  मनास्लु पोष्ट  1006 पटक हेरिएको

बाढीले भत्काएको घरमा आठ वर्षीय छोरा र दुई, चार र ६ वर्षीया छोरीबाहेक कोही छैनन् । काखमा अर्काे तीनमहिने छोरो बोकेर हरेक दिन उर्मिला सदा न्याय खोज्दै टोल, समाज, संघ संस्था, न्यायिक समितिदेखि प्रहरी कार्यालयसम्म पुगिरहेकी छिन् ।

छिमेकीबाटै यौन हिंसाको सिकार भएको भन्दै पीडकलाई कारबाही माग्दै उनले जताततै उजुरी पनि दिएकी छन् । तर सप्तरीको सुरुंगा नगरपालिका–१ चहका टोलकी ३१ वर्षीया उर्मिला सदाले अझै न्याय पाउन सकेकी छैनन् ।

छोराछोरीको लालनपालन गर्न सम्पत्तिका नाममा केही नभएपछि त्यसको जोहो गर्ने आफूमाथि हिंसा गर्नेलाई कारबाही माग्दै चौतर्फी भौतारिने दोहोरो दिनचर्या छ, उनको ।

कतै सुनुवाइ नभएपछि साँझ निराश र थकित भएर घर फर्किन्छिन् । विगत एक वर्षदेखि यो उनको दिनचर्या नै बनेको छ । उर्मिलालाई न्याय दिलाउन शनिबार जनचेतना दलित संगम मधुपट्टी सप्तरीले पत्रकार सम्मेलनको आयोजना गरी सहयोगका लागि पहल गरिदिन सरोकारवाला सबैसँग आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा काखे बालकसहित उपस्थित भएकी पीडित महिला उर्मिलाको दुःख मार्मिक छ ।

छिमेकीबाटै यौन हिंसाको सिकार भएको बताएकी उनले न्यायका लागि स्थानीय नेता, जनप्रतिनिधि मानवअधिकारकर्मी र प्रहरीसम्म गुहार्दा पनि आश्वासनबाहेक केही नपाएको सुनाइन् ।

हालसम्म आधा दर्जनभन्दा बढी निकायमा उनले उजुरी दिइसकेकी छिन् । ‘तर मैले कुनै निकायबाट पनि न्याय पाइनँ,’ उनी भन्छिन्, ‘यताबाट उता जानुस् भन्दै फर्काउँछन्, न्याय माग्न सबै निकायमा पुगिसकें, अब कता जाऊँ ?’

उर्मिलाका पति छैनन् । दुई वर्षअघि पति नारायणको मृत्यु भएपछि चार सन्तानको भरणपोषण उनका लागि ‘फलामको चिउरा’ भयो । पति वियोगपछि सन्तानको लालनपालनकै लागि उनले छिमेकी ३५ वर्षीय ओमप्रकाश यादवको घरमा काम गर्न सुरु गरिन् ।

घरमा भाँडावर्तन माझ्ने र खेतीपातीसम्मको काम गर्ने जिम्मेवारी पाइन् । एक दिन घरमा कोही नभएको मौका छोपी यादवले आफूसँग जबर्जस्ती यौन सम्पर्क गरेको उर्मिलाको भनाइ छ ।

‘कसैलाई भन्यो भने तिमी र तिम्रो छोरा छोरीका लागि ठीक हुँदैन भनी धम्क्याउँदै ओमप्रकाशले पटकपटक यौन दुव्र्यवहार गरेको उर्मिलाको आरोप छ ।

आफू गर्भवती भएपछि विवाह गर्ने प्रलोभन देखाउँदै यौन शोषण गरे पनि दलित भएकै कारण आफूलाई स्वीकार गर्न नमानेको उर्मिलाको भनाइ छ । गाउँमा बसेको पञ्चायतीमा ओमप्रकाशले गल्ती स्विकार्दै विवाह गर्ने कबोल गरे पनि पछि गएर बोली फेरेको उनले सुनाइन् ।

हाल पाँचौं सन्तानका रूपमा काखमा रहेका तीन महिनाका छोरा ओमप्रकाशकै शारीरिक सम्बन्धबाट जन्मेको उनले दाबी गरेकी छन् ।

उनले बच्चा जन्मिनुअघि न्यायका लागि इलाका प्रहरी कार्यालय कडरबोनामा पनि पुगेको बताइन् । त्यतिबेला प्रहरीका एक जिम्मेवार अधिकारीले ‘पहिले बच्चा जन्माऊ अनि बच्चाको डीएनए जाँच गरेर आरोपीमाथि कारबाही गर्छु’ भनेर आश्वासन दिएको उर्मिला बताउँछिन् । ‘अहिले बच्चा जन्मिएपछि जाँदा पनि कहिले जिल्ला प्रहरी त कहिले अदालत जाऊ भन्छन्,’ उनी भन्छिन् ।

आफू र आफ्ना पाँच सन्तानलाई दुई छाक खुवाउन पनि धौधौ परिरहेको अवस्थामा न्यायका लागि कताकता र कसरी जाने आफूलाई केही थाहा नभएको उनी बताउँछिन् ।

यता इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्ष सुरेन्द्र श्रेष्ठले पीडित महिलाको तर्फबाट ढिलो गरी उजुरी आउँदा पनि मानवीय आधारमा गर्नुपर्ने प्रयासहरु गरिएको बताउँछन् । उनले आरोपी भनिएका ओमप्रकाशलाई पक्राउ गरी एक रात थुनामा राखिएको तर उनले आरोप अस्वीकार गरेपछि छाडेको बताए ।

‘तत्काल प्रमाण नदेखिएपछि भोलिपल्ट मुक्त गरेका हौ,’ प्रहरी निरीक्षक श्रेष्ठले भने । डीएनए टेस्ट म्याच गरेको खण्डमा आरोपीमाथि अंशलगायतका मुद्दा सहजै दायर गरेर उर्मिलालाई न्याय दिलाउने भन्दै उनले जिल्ला प्रहरी कार्यालयको महिला सेलमा सम्पर्क गर्न भनेका छन् ।

न्यायका लागि उर्मिलालाई सहयोग गर्दै आएका दलित जनचेतना संगमका कार्यकारी निर्देशक गणेशकुमार रामले प्रहरीले ढिलाइ गर्दा उर्मिलाको भविष्य अन्धकारमय बन्दै गएको भन्दै न्यायका लागि सरोकारवाला सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

MANASLU TV मा subscribers गर्नुहोला ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार