काठमाडौं : नवरात्रको आठौँ दिन अर्थात् महाष्टमी। बुधबार दुर्गा भगवतीकी अाठौँ रूप महागौरी देवीको पूजा–आराधना गरिँदैछ । अघिल्लो दिन अर्थात् सप्तमीमा आराधना गरिने कालरात्रि देवीको विपरीत महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी छिन् ।
शिवकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ। साँढेमा बसेकी यिनले एक हातमा त्रिशूल र अर्को हातमा डमरु लिएकी छिन् । एक हातले अभय र अर्को हातले शान्त मुद्रा प्रदर्शन गरेकी छिन्। देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष मानिएको छ मध्यरातमा दशैँघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ ।
आफ्ना परम्परामा ग्राह्य पशुहरूको बलिसहित विशेष पूजा आराधना गरिन्छ। महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ। भैरवहरूको विशेष पूजा पनि यही दिन हुन्छ । तान्त्रिक विधानअनुसार शस्त्रअस्त्र (हातहतियार)को पूजा गर्ने चलन पनि छ । नवरात्रका अरु दिन नसक्नेले यो दिन दुर्गा सप्तशती (चण्डी) पूरै पाठ गर्छन् । अष्टमीदेखि शक्तिपीठमा हुने घुइँचोसमेत बढ्छ ।
काठमाडौंस्थित गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, गोरखाको मनकामना, सिन्धुपाल्चोकको पाल्चोकभगवती, काभ्रेको पलाञ्चोकभगवती र बाँकेको बागेश्वरीलगायत शक्तिपीठमा भक्तजनको घुइँचो हुन्छ। यस्तै बागलुङ कालिका, दोलखामा कालिञ्चोक भगवती, डडेलधुरामा उग्रतारा, सप्तरीमा छिन्नमस्ता, नवलपरासीमा मौलाकालिका, पाल्पामा तानसेन भगवती, पर्सामा गहवामाई, सर्खेतमा देउतीबज्यै, ताप्लेजुङमा पाथीभरा, सुनसरीमा दन्तकाली र बारामा गढीमाई नवरात्रका गन्तव्यस्थल हुन् ।

715 पटक हेरिएको 

