
कल्पना थापा मगर
गोरखा, १२ मंसिर । बुधबार देखि मनकामना मन्दिरमा भक्तजनहरुलाई भित्र नै दर्शन गर्नका लागि खुल्ला गरिएको छ । मन्दिर निर्माणको काम सम्पन्न भईसकेकोले आज देखि भित्रैबाट मनकामना मन्दिरमा भक्तजनहरुलाई भित्रैबाट पुजा गर्नका लागि खुल्ला गरिएको जिर्णोद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
दशैँ देखिनै खुल्ला गरिने भनिए पनि मन्दिरको कम्पाउण्डको कार्य बाँकी रहेकोले केही ढिला हुन गएको संयोजक श्रेष्ठले बताउनुभयो ।
मन्दिरको आँगनमा ढुंगा विछाउने काम पनि अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
मुल मन्दिरको काम सकिए पनि मन्दिरको लागि केही आवस्यक पर्ने संरचनाहरु मन्दिरको पश्चिम पट्टिको भागमा सुरक्षा पर्खाल , पुजारी कक्ष , भजन मन्डली, धर्मशाला आदि बनाउन भने अझै बाँकी नै रहेको छ। मन्दिरको छानामा १८ किलो सुनको जलप लगाई पुरानै संरचनामा मन्दिर निर्माण गरिएको छ ।
संयोजक श्रेष्ठका अनुसार १३ करोडमा मन्दिर निर्माण कार्य सम्पन्न भएको हो । ४ करोड नेपाल सरकार र बाँकी भक्तजनहरुको सहयोगमा नै निर्माण सम्पन्न भएको हो ।

853 पटक हेरिएको 

