
काठमाडौँ, असार ८ गते । नेवारी संस्कृतिमा दाफा भजनको लामो परम्परा छ । दाफा भजन शास्त्रीय सङ्गीतको उच्चतम सम्मिश्रण पनि हो । गणेश भजन मण्डलका भीमप्रसाद प्रजापति भन्नुहुन्छ, ‘‘भजन नेवारी संस्कृतिको मात्रै नभएर नेपाली सङ्गीतकै एक महìवपूर्ण र मौलिक विधा हो । ’’
के हो दाफा भजन ?
समय, परिस्थिति र मौसमअनुसार गाइने सङ्गीतमय गुञ्जन हो दाफा भजन । यसमा मानवीय व्यवहार, संस्कार र देशमा भएका गतिविधिलाई प्रस्तुत गरिन्छ । दाफाका गीत, सङ्गीत र बोलहरू परम्परागत शास्त्रीय रागहरूमा आधारित हुन्छन् ।
ग्वारा, लोकभजन, रागलगायत सङ्गीतका विभिन्न विधालाई नेवारी सङ्गीतमा दाफा भन्ने गरिएको छ । दाफा गीत खास गरी ३५ वटा रागमा आधारित भएर गाउने गरिएको जानकार बताउँछन् । दाफा गाउँदा खिं, बबुचा, ताः लगायत बाजा बजाउने गरिन्छ । परम्परा र ऋतुअनुसार बाँसुरी, पोङ्गा, डमरुलगायत बाजा पनि बजाउने चलन छ ।
हराउँदै भजन
लिच्छविकालबाटै अस्तित्वमा रहेको दाफा भजन नेवारी संस्कृतिको विशिष्ट पहिचान हो । तर पछिल्लो समय धेरैजसो स्थानमा दाफा भजन गाउने चलन हराउँदै गएको छ ।
हे राजा राजेन्द्र नेपाल या मछिन्द्रनाथ…
सिद्धिगणेश दाफा भजन खलः का तेजनसिहं द्वारेले कात्तिक एक महिना तथा प्रत्येक मङ्गलबार यही भजन गाउने गरिएको जानकारी दिनुभयो ।
९१ वर्षीय द्वारे भन्नुहुन्छ, ‘‘केही दशकअघिसम्म दाफा सङ्गीत काठमाडौँ, भक्तपुर, ललितपुरका हरेक टोलमा नियमित गाइन्थ्यो । तर पछिल्लो समय दाफा सङ्गीत लोप हुने अवस्थामा पुगेको छ । ’’ पहिले पहिले दैनिक बिहान बेलुका गाइन्थ्यो । तर अहिले भने चाडपर्वमा मात्र प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।
नेवार समुदायको बाक्लो बसोबास रहेका स्थानहरूमा हरेक दिन गाइने दाफा भजनको दृश्य अचेल दुर्लभ जस्तै बनिसकेको छ ।
गायक रामकृष्ण दुवालले दाफा गीत खास गरी ३५ वटा रागमा आधारित भएर गाउने गरिएको प्रष्ट पार्नुभयो । भाषाविद् गणेशराम लाछीका अनुसार केही वर्षअघिसम्म भक्तपुर नगरका टोलटोलमा दाफा भजन गाइन्थ्यो अचेल परम्परा धान्नकै लागि चाडपर्वमा मात्र गाइन्छ ।
‘भक्तपुर नगरको टोलटोलमा साँझ भजन तथा धार्मिक क्रियाकलापले गर्दा यहाँको वातावरण नै सङ्गीतमय हुने गथ्र्यो तर अहिले धेरै ठाउँमा भजन गुञ्जिन छाडेको छ’, उहाँले थप्नुभयो ।
सम्बन्ध विस्तारको माध्यम
परापूर्वकालदेखि नै नेवार समुदायभित्र सामूहिक सम्बन्ध विस्तारको माध्यमका रूपमा दाफा भजनलाई लिने गरिएको पाइन्छ । संस्कृतिको विभिन्न रूप पनि यसैमा झल्किन्छ ।
भजन धार्मिक अनुष्ठानको प्रक्रिया मात्र थिएन, सामाजिक गतिविधिको एउटा अभिन्न अङ्ग पनि थियो । संस्कृतविद् सत्यमोहन जोशीका अनुसार दाफा समूहले मन्दिर बनाउने, कुलो खन्ने, पोखरी सफा गर्ने आदि काममा पनि भूमिका खेल्थयो । तर कृषिमा समाजको निर्भरता कम हुँदै गएपछि भजन समूह पनि क्रमशः निष्क्रिय बन्दै गयो ।
सामाजिक मञ्चहरू बदलिएका छन् । विभिन्न ठाउँ, पेसा, व्यवसायका व्यक्ति सहभागी हुन अचेल क्लब र सहकारी संस्था माध्यम बनेका छन् ।
आर्थिक अभाव चर्को समस्या
प्रायः दाफा भजनमण्डलीले आर्थिक अभाव झेल्दै आएका छन् । गुठी संस्थानले वास्ता नगरेका कारण आर्थिक अभावमा पर्दै गएको दाफा भजनका नाइकेहरू बताउँछन् । भजनमण्डली र गानाबजाना समूह जसोतसो चलिरहेका छन् ।
नयाँ बाजागाजा ल्याउन सकिएको छैन । पुराना बाजागाजा पनि मर्मत गर्न नसक्दा थप समस्या छ । गणेश भजन मण्डलका भीमप्रसाद प्रजापतिका अनुसार दाफा भजन समूहलाई कहीँकतैबाट सहयोग भए यसको संरक्षणमा टेवा पुग्ने बताउँछन् ।
नेवारी संस्कृतिको मात्रै नभएर नेपाली लोकसङ्गीतकै एक महìवपूर्ण र मौलिक विधा हराउनसक्ने सम्भावना रहेको
लोकशास्त्रीय सङ्गीतकर्मी रामकुष्ण दुवाल बताउनुहुन्छ । आफूहरूको प्रयासले मात्र दाफा भजन संरक्षण हुन नसक्ने भएकाले बुढापाकाहरू चिन्तित रहेको भक्तपुर, दत्तात्रयका प्रकाशमान शाक्यले जानकारी दिनुभयो । आर्थिक स्रोत जुटाएर युवापुस्तालाई प्रशिक्षण दिन सकिए पहिले जस्तै समाजमा लोकप्रिय हुने उहाँको ठम्याइ छ ।
संरक्षणको पहल
काठमाडौँ महानगरपालिका अन्तर्गत संस्कृति तथा पर्यटन विभागको प्रमुख रामबहादुर थापाले अहिले दाफा भजन लोप हुने अवस्था रहेको स्वीकार्दै भन्नुभयो, ‘यसको संरक्षणका लागि पनि धेरै पहल भएको छ । ’
उहाँले लोप हुने अवस्थामा रहेका बाजाहरूलाई बचाउन स्थानीय गुठीहरूको सहकार्यमा तालिमहरू दिइरहेको जानकारी दिनुभयो । तालिम दिने गुरुहरूलाई आर्थिक सहयोग गरिएको पनि थापाले बताउनुभयो । हाल मानन्धर समूह तथा ज्यापु समुदायलाई भजन तथा लोपोन्मुख बाजाको तालिम दिइरहेका जानकारी उहाँले दिनुभयो ।
दवली, पाटीपौवा भजनका लागि नभई नहुने भएकाले यसको संरक्षणको काम पनि अगाडि बढेको दाबी गर्दै उहाँले भन्नुभयो, ‘‘बिग्रेको, भत्केको पाटीपौवाहरूको मर्मत सम्भार
भइरहेको छ । ’’ महानगरको संस्कृति तथा पर्यटन समितिका संयोजक न्हुछेकाजी महर्जनले पुनः निर्माणको काम भइरहेको तथा दाफा भजनको संरक्षणका लागि युवापुस्तालाई प्रशिक्षण पनि दिइरहेको जानकारी दिनुभयो ।
भजनबाटै कलाकार
जनवादी गायक तथा सङ्गीतकार रामकृष्ण दुवाल भजनबाटै लोकप्रिय कलाकार बन्नुभएको हो । रेडियो नेपालको स्वर परीक्षणमा भजन गाएर नै उत्तीर्ण भएको सम्झँदै उहाँले भन्नुभयो, ‘‘सानोमा भजनको प्रभावले सुर, ताल र राग भनेको के हो भन्ने बुझ्ने मौका पाइयो । ’’ ‘‘पहिले धणाश्री राग, भैरवी, मालश्री रागमा भजन गाउनुपथ्र्यो, त्यो समय निकै रमाइलो थियो’’ उहाँले थप्नुभयो, ‘‘भजनको नाममा बुढापाकाको गफ गर्ने ठाउँ पनि बन्थ्यो । ’ भजन शिरोमणिको उपाधि पाउनुभएको भक्तराज आचार्य पनि भजनबाट सङ्गीतको क्षेत्रमा आउनुभएको हो । मीरा राणा, रत्न बेहोसी, शिला विष्ट, किरण शाक्य, बाला भटट्राई, अञ्जु पन्त, निशा देसार लगायतले भजनबाटै चर्चा बटुल्नुभएको हो । अहिलेको युवा गायिका निशा देसार भन्नुहुन्छ, ‘‘मलाई भजन गाउन धेरै मनपर्छ मेरो ‘बेस’ भनेको नै भजन हो । ’’
खोई युवापुस्ता ?
पुस्तौँ पुस्तादेखि चलिआएको परम्परागत दाफा भजनलाई अहिलेको युवापुस्ताले वास्ता नगरेकै कारण भजन मण्डली हराउँदै गएको भक्तपुर तौमढीका सुभ्रमान कर्माचार्यले बताउनुभयो । उहाँ चार दशकदेखि भजन मण्डलीमा संलग्न हुनुहुन्छ । आधुनिकतासँगै भित्रिएको विदेशी गीतसङ्गीत र इन्टरनेटले युवापुस्तालाई प्रभाव पारिरहेको छ । आफ्नो गीतसङ्गीत र पम्परामा युवापुस्ताको ध्यान नपुगेकोमा भजन टोलीको गुनासो छ ।
MANASLU TV

1470 पटक हेरिएको 

