अमृता लुंगेली मगरको “झिलीमिली देउसी भैलो” गीत सार्वजनिक (भडियो सहित)

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन  19 पटक हेरिएको

काठमाडौं। महान् पर्व शुभ दीपावली अर्थात् तिहार नजिकिएसँगै नेपाली सांगीतिक बजारमा तिहार विशेष गीतहरू सार्वजनिक हुने क्रम बढेको छ । यसै क्रममा चर्चित गायिका अमृता लुंगेली मगरको स्वरमा सजिएको देउसी भैलो विशेष गीत “झिलीमिली देउसी भैलो” सार्वजनिक भएको छ। तिहारको सांस्कृतिक महत्त्व, पारिवारिक आत्मीयता र देउसी भैलोको मौलिक परम्परालाई समेटिएको यस गीतले पर्वको रौनक थप्ने अपेक्षा गरिएको छ ।

विजयादशमी पछि मनाइने तिहारमा दिदीबहिनी तथा चेलीबेटीबाट दाजुभाइलाई टीका लगाई दीर्घायु, सुख, शान्ति र समृद्धिको आशीर्वाद दिने परम्परा छ । भाइटीकाका अवसरमा ओखर फुटाउने, माला लगाइदिने तथा दाजुभाइको सुखद भविष्यको कामना गर्ने चलन रहिआएको छ। त्यस्तै, देउसी भैलो खेल्ने, नाचगान गर्ने र आपसी सद्भाव साटासाट गर्ने परम्पराले तिहारलाई अझ विशेष बनाउँदै आएको छ। यही सांस्कृतिक महत्त्वलाई आत्मसात् गर्दै “झिलीमिली देउसी भैलो” गीत सार्वजनिक गरिएको हो ।

नेपाली सांगीतिक क्षेत्रमा दुई दशकदेखि सक्रिय अमृता लुंगेली मगरका साली भेना, देउसी भैलो, बाच्छी कहाँ हरायो, जो धेरै नाच्छ उ धेरै बाच्छ, सरर प्लेनमा आए, के होला शुभ नाम लगायतका गीतहरू चर्चामा छन्। हाल: अमेरिकालाई कर्मथलो बनाउँदै आएकी अमृताले विदेशमा रहेर पनि नेपाली गीत संगीतलाई निरन्तरता दिँदै आएकी छन्।

सानै देखि गायनमा रुचि राख्ने अमृता नेपाली गीत संगीतलाई आफ्नो मुटु सरह मान्छिन्। स्वरले साथ दिएसम्म गायनलाई निरन्तरता दिने उनको प्रतिबद्धता छ। सांगीतिक क्षेत्रमा करिब दुई दशक संघर्ष गरेकी अमृताले दर्जनौ अवार्ड तथा सम्मानहरु प्राप्त गर्न सफल भएकी छिन्। दर्जनौ अवार्ड तथा सम्मान प्राप्त गर्न सफल भएपछि अमृताले गायिका कै रुपमा एक्स्ट्राअर्डिनरी भिषा पाउन सफल भएर अमेरिका पुगेकी हुन्।

“झिलीमिली देउसी भैलो” मा स्वर सम्राट राजु परियार, वरिष्ठ गायक घमेश दुलाल, चर्चित गायक तथा सर्जक सरोज बिरही कार्की, वरिष्ठ गायिका सीता थापा, चर्चित गायिका राधिका हमाल र चर्चित गायिका अमृता लुंगेली मगर लगायत कलाकारहरूको स्वर रहेको छ। गीतमा सरोज बिरही कार्कीको शब्द, संगीत तथा एरेञ्ज रहेको छ।

गीतको भिडियोमा खगेन्द्र गिरीको निर्देशन, केशव विश्वकर्माको छायांकन र कल्पेश विश्वकर्माको सम्पादन रहेको छ। भिडियोमा पीएन सापकोटा, सम्झना लामिछाने मगर र अमिस उपरकोटीले अभिनय गरेका छन्। “झिलीमिली देउसी भैलो” अमृता लुंगेली मगरको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। तिहारको मौलिक संस्कृति, देउसी भैलोको उल्लास र नेपालीपन झल्काउने यस गीतले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार