काठमाडौं । अहिलेकी व्यस्त गायिका अन्जु पन्तले काठमाडौंका विभिन्न गीत रेकर्डिङ स्टुडियोमा कार्यरत रेकर्डिस्टहरूलाई खाद्यान्न सहयोग गरेकी छन् । यस्ता स्टुडियोहरू बन्द भएकाकारण अढाइ महिनादेखि घरमै बस्नुपर्दा रेकर्डिस्टहरू आर्थिक संकटमा परेका कारण आफूले सहयोग गरेको गायिका पन्तले बताइन् ।
काठमाडौंको अनामनगरमा उनले खाद्यान्न सहयोग कार्यक्रम आयोजना गरी सामाजिक दूरीमा रहेर सहयोग गरेकी हुन्, ‘हालै एक स्टुडियो एउटा गीत रेकर्ड गर्ने क्रममा धेरै रेकर्डिस्टहरू संकटमा हुनुहुन्छ भन्ने जानकारी पाएँ । त्यसैले, आफ्नो संस्था अन्जु पन्त फाउन्डेसनका तर्फबाट आफूले सकेको सहयोग गरेकी हुँ,’ उनले राजधानीसँग भनिन् ।
अन्जुले बिहीबार आयोजना गरेको राहत प्रदान कार्यक्रममा १५ जना रेकर्डिस्टहरूले आएर खाद्यान्न सामग्री ग्रहण गरे । करिब १ सय जना रेकडिस्टहरू अहिले समस्यामा रहेकाले बाँकी रेकर्डिस्टहरूलाई आफूले घरमै खाद्यान्न पु¥याउने पनि गायिका अन्जु पन्तले बताइन् । उनले खाद्यान्नमा एक बोरा चामलसहित दाल, चिउरा, तरकारी, मस्यौरा, प्याज, मसला, नुन, तेल, चिनी, चियापत्तीलगायतका सामग्री प्रदान गरेकी छन् ।
लकडाउनकै बेला यसअघि गायका पन्तले विभिन्न ठाउँमा खाना खुवाउने कार्यक्रम सञ्चालन गरिन् । उनले लकडाउनकै बेला अन्जु पन्त फाउन्डेसनका तर्फबाट १२ ठाउँमा खाद्यान्न सहयोग गरेको बताइन् ।

516 पटक हेरिएको 

