दुर्गेश थापाको स्वर रहेको म्युजिक भिडियो ‘बिच्च बिच्चमा–२’ अहिले युट्युब प्रेमी दर्शकका लागि रमाइलो खजाना बनेको छ । तीजको गीत भनिएको उक्त गीतको भिडियोलाई अहिलेसम्म ८७ लाख बढी दर्शकले हेरिसकेका छन् ।
कोरोना संक्रमण नभएको भए शायद यति बेला दुर्गेश र उनको टिम स्वदेश एवं विदेशमा आयोजित विभिन्न स्टेजमा ‘बिच्च बिच्चमा…’ भन्दै स्टेज थर्काइरहेका हुन्थे । जसले ‘दुर्गेशले अलिमियाको गीत चोरे…’ भनेर टिप्पणी गरेका थिए ती पनि दुर्गेशकै गीतमा थप्पडी मारिरहेका हुन्थे होला ।
धन्न, कोरोना संक्रमणले दुर्गेशहरु युट्युबमै सिमित भएका छन् यसपाली । तर, पनि उनको क्रेज दिन दिनै बढिरहेको छ । एक महिनामै उनको गीत ८७ लाख पटक क्लिक हुनुको अर्थ हो हाम्रो समाजमा दुर्गेश र दुर्गेश जस्तै पात्रहरु काफी लोकप्रिय छन् । गीत, गीत जस्तै हुनुपर्छ वा कुनै पनि गीतमा गीतमा हुनुपर्ने गुणहरु हुनुपर्छ भन्ने जरुरी छैन । केही गायक र भिडियो निर्देशकको मष्तिष्कमा केही थान अर्धनग्न सुन्दरीहरु राखेपछि भिडियो हिट हुन्छ भन्ने मान्यता स्थापित हुँदै गएको बेला हाम्रा दर्शकले पनि ती मान्यतालाई क्रमश स्थापित गर्दै गएका छन् ।
पछिल्लो समय युट्युबमा सार्वजनिक भएका गीत र आफुलाई गीतका पारखी दाबी गर्नेहरुले गरेको कमेन्ट हेर्दा लाग्छ, हाम्रा स्रोताहरु पनि भ्रष्ट भैसके । नेताले देश बिगारे भन्दै सामाजिक सञ्जाल मार्फत उपदेश दिनेहरुले आफैं मतिभ्रष्ट भएको कहिल्यै महशुस गरेनन् । देश बिग्रिएकोमा सबै भन्दा धेरै चिन्ता गर्नेहरु युट्युबमा आएको यस्तै भिडियो हेरेर रमाउने पुस्ता नै हुन् । कर्मचारीले काम गरेनन्, नेताहरुले घुस खाए, पत्रकारले सही सूचना दिएनन् जस्ता गुनासाहरु यीनै वर्गबाट बढि सुनिन्छ ।

1185 पटक हेरिएको 

