केही समयअघि म्यागासेसे पुरस्कार विजेता महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र खोल्न आफूले जीतेको पदक बेच्ने घोषणाले नेपालमा चर्चा पाएको थियो। एक यस्तै घोषणा ट्युनिसियाली–फ्रान्सेली निर्देशक अब्देललतिफ कसिचीले पनि गरेका छन्।
सन् २०१३ को कान्स फिल्म फेस्टिवलमा उत्कृष्ट फिल्म घोषित भएको ‘ब्लु इज द वार्मेस्ट कलर’ नामक फिल्मका निर्देशक कसिचीले आफ्नो पाम डिओर ट्रफी नै लिलामीमा राख्ने भएका छन्, त्यो पनि उनको निर्माणधीन फिल्म ‘मकतुब, माइ लभ’ को खर्च बेहोर्न।
‘मकतुब, माइ लभ’ को पोस्ट प्रोडक्सन चलिरहेको छ। फिल्ममा ऋण दिइरहेको बैंकले अचानक ऋण दिन बन्द गरेपछि सो फिल्म अड्किएको थियो। त्यसपछि कसिचीले आफूले पाएको ट्रफी बेच्ने घोषणा गरेका हुन्।
कसिचीले ट्रफी मात्र नभइ फिल्मको दृश्यमा देखाइएका विभिन्न तैलचित्र पनि बेच्न लागेका हुन्। यद्यपि फिल्म सम्पन्न गर्न कति पैसा आवश्यक भएको हो, त्यसबारे पनि कुनै जानकारी दिइएको छैन।
कसिचीको निर्माणाधीन फिचर फिल्म ‘मकतुब, माइ लभ’ मा फ्रान्सेली कलाकार लु लुत्तिउ, शेँ बुम्दिन र ओफेली बुले अभिनय गरेका छन्।
लिया सेडक्स र एडेल एक्जार्चोपुलस अभिनित विवादास्पद ‘ब्लु इज द वार्मेस्ट कलर’ पाम डिओरका साथै गोल्डेन ग्लोब अवार्डमा सर्वोत्कृष्ट विदेशी भाषाको फिल्म तथा बाफ्टा अवार्डमा अंग्रेजी भाषाबाहेकको सर्वोत्कृष्ट फिल्म पनि बन्न सफल भएको थियो। एजेन्सी

881 पटक हेरिएको 

