काठमाडौं । नेपाली चलचित्रकी अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन् । तीन दशकअघि चलचित्र दर्पण छायाँबाट अभिनेत्रीका रूपमा नेपाली चलचित्र उद्योगमा भित्रिएकी निरुताले बिहीबार मुम्बईमा विवाह गरेकी हुन् । उनका समकक्षी अभिनेत्रीको छोराछोरी कलेज पढ्ने उमेरका हुँदै गर्दा अभिनेत्री निरुताले यति बेला विवाह गरेकी हुन् ।
पछिल्लो समय नेपाली चलचित्रमा अभिनयसँगै अभिनेत्री निरुताले मुम्बईमा बसेर इन्टेरियर डिजाइनसम्बन्धी कार्य गर्दै आएकी थिइन् । यसै क्रममा मुम्बई निवासी व्यवसायी सन्जिभ गुलाटीसँग उनले विवाह गरेकी हुन् ।
आफ्नो विवाह भएको तस्बिर फेसबुकमार्फत सेयर गर्दै अभिनेत्री निरुताले लेखेकी छन्, ‘यतिका वर्षदेखि एक मात्र प्रश्न, जुनबिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैनथ्यो । त्यो हो ‘निरुताजी बिहे कहिले गर्ने ?’ भन्ने प्रश्न । आज त्यस प्रश्नको जवाफ दिएकी छु ।’
यसरी आफू दाम्पत्य सम्बन्धमा बाँधिएर बल्ल सो प्रश्नको जवाफ आफ्ना शुभचिन्तक र दर्शकलाई दिन सफल भएको उनले फेसबुकमा लेखेकी छन् ।
उनले आफ्नो श्रीमान सन्जिभसँग इन्गेजमेन्ट गरेको तस्बिर फेसबुकमा सेयर गरेकी हुन् । जसमा दुवै जना फूलको रातो माला लगाएर निकै प्रफुल्ल मुद्रामा देखिएका छन् । सो तस्बिरले पनि उनीहरू दुलाहादुलही हुँदै गरेको प्रस्ट्याएको छ । विवाहको तस्बिर सार्वजनिक गरेसँगै अहिले अभिनेत्री निरुतालाई सामाजिक सञ्जालबाट बधाईको ओइरो लागेको छ ।
निरुताले विवाह गरे पनि आफू नेपाली चलचित्र उद्योगबाट टाढा नरहेको बताएकी छन् । आफूलाई प्रस्ताव आउने नेपाली चलचित्रमा अभिनयलाई निरन्तता दिने पनि उनले बताएकी छन् । आफ्नो कर्मथलो नेपाल भएको बताउँदै उनले आफ्ना श्रीमान सन्जिभलाई पनि चाँडै नेपाल लिएर आउने जनाएकी छन् ।
अभिनेत्री निरुताले २०५० सालमा रिलिज भएको नेपाली चलचित्र ‘दक्षिणा’बाट नेपाली चलचित्र उद्योगमा डेब्यु गरेकी थिइन् । तुलसी घिमिरे निर्देशित यो चलचित्रले नै उनलाई नेपाली चलचित्र उद्योगमा परिचित तुल्यायो । त्यसपछि उनलाई घिमिरेकै अर्को चलचित्र दर्पण छायाँले नेपाली रजतपटमा सर्वाधिक लोकप्रिय बनायो ।
नेपाली चलचित्र उद्योगमा निरन्तर दुई दशक काम गरेपछि उच्च शिक्षा अध्ययनका लागि उनी मुम्बई गएकी हुन् । मुम्बई बसाइँकै क्रममा हरिवंश आचार्यको पछिल्लो चलचित्र दाल भात तरकारीमा नायिका भएर उनी नेपाली चलचित्रमा फर्किएकी हुन् । त्यसपछि उनले भुवन केसीको ‘क्याप्टेन’ तथा विकास आचार्यको ‘नाई नभन्नु ल–५’मा पनि अभिनेत्रीका रूपमा काम गरिन् । यसरी दक्षिणाबाट आफ्नो करिअर सुरु गरेकी निरुताले ‘लहना’, ‘नाता रगतको’, ‘मन मन्दिर’, बन्दकी’, ‘खानदान’, ‘आफन्त’, ‘आमाको आर्शीवाद’, ‘दुनियाँ’,सहित एक सयभन्दा बढी चलचित्रमा नायिकाका रूपमा अभिनय गरिसकेकी छन् । उनी अहिले नयाँ चलचित्र पञ्चामृतमा अनुबन्धित भएकी छन् ।

196 पटक हेरिएको 

