मुस्ताङका सबै स्थानीय तहमा धमाधम हाइब्रिड जातको स्याउखेती

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  Manaslu Post  188 पटक हेरिएको

मुस्ताङ : मुस्ताङमा विदेशबाट आयातित हाइब्रिड जातको स्याउको खेती धमाधम गर्न थालिएको छ।

पछिल्लो समय मुस्ताङका पाँचवटै स्थानीय तहका किसानले स्थानीय जात छोडेर हाइब्रिड स्याउखेती गर्न थालेका हुन्।

स्थानीय जातका स्याउभन्दा इटालीबाट ल्याइएको हाइब्रिडका बोटले गुणस्तरीय र छिटो उत्पादन दिने भएकाले यसतर्फ आकर्षण बढेको हो।

गत वर्षसम्म यहाँका किसानले ८९० हेक्टर जमिनमा हाइब्रिड स्याउ लगाएको कृषि ज्ञानकेन्द्रले जनाएको छ। यो वर्ष थप जमिनमा बिरुवा लगाउनेको सङ्ख्या बढेको केन्द्रले जनाएको छ।

सुरुआती चरणमा मनाङ एग्रो कम्पनीले यहाँ उच्चघनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउखेतीको परीक्षण गरेको थियो। विसं २०७५ मा गरिएको परीक्षण सफल भएपछि अरू किसानले पनि विदेशी स्याउ खेती गर्न थालेको चिम्ले अचार्ड कृषि स्याउ फार्मका सञ्चालक कर्म गुरुङले जानकारी दिए।

उनका अनुसार पछिल्लो समय मुस्ताङका पाँचै स्थानीय तहका किसानले स्थानीय जातलाई थाती राख्दै हाइब्रिड स्याउखेती गर्न थालेका हुन्।

हाइब्रिड बोटले दोब्बर‚ गुणस्तरीय र आकर्षक उत्पादन दिने भएकाले किसानको त्यसतर्फ आकर्षित भएको गुरुङको भनाइ छ।

पछिल्लो समय खाली गेग्रान बगरमा हाइब्रिड स्याउखेती विस्तार भइरहेको केन्द्रले जनाएको छ। गेग्रान बगरबाट उच्च उचाइमा हाइब्रिड स्याउखेती गर्न थालिएको केन्द्रका प्रमुख राजेश गुरुङले जानकारी दिए।

मुस्ताङमा सबै खेतीयोग्य जमिनमा ५० वर्षसम्मका स्थानीय जातका स्याउका बोट छन्। फल दिइरहेका स्थानीय जातका स्याउलाई कायम राखी खाली भएका सार्वजनिक जग्गामा हाइब्रिड जातका बोट रोपिएको उनको भनाइ छ।

मनाङ एग्रो कम्पनीले यो वर्ष २० हजार हाइब्रिड जातका स्याउका बिरुवा मुस्ताङ पठाएको थियो। लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाभित्र बाँझो जग्गा र गेग्रान बगरमा हाइब्रिड स्याउखेती गरिएको केन्द्रका प्रमुख गुरुङले जानकारी दिए।

नयाँ प्रविधिमा हाइब्रिड स्याउखेती गर्न थालेसँगै बाँझो जग्गा, तटीय गेग्रान बगर र उच्च लेकसम्म बिरुवा रोपिएको प्रमुख गुरुङले बताए। थोरै क्षेत्रफलमा धेरै बिरुवा रोप्न सकिने, छिटो उत्पादन दिने, एउटा बोटले ३० किलोसम्म उत्पादन दिने भएकाले कृषक यसतर्फ आकर्षित भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार