किसानलाई धान थन्क्याउन चटारो

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  Manaslu Post  66 पटक हेरिएको

लमजुङ । दसैंसँगै मनसुन बिदा भएपछि लमजुङका किसानहरूलाई अहिले धान काट्न र थन्क्याउन चटारो छ । गाउँभरिका कृषकहरू खेतमै व्यस्त हुन थालेका छन् ।

टारी तथा फाँटहरूमा लगाइएका वर्णशङ्कर र उन्नत जातका धान पाकेर पहेँलपुर भएपछि किसानलाई अहिले धान काट्न र थन्क्याउन भ्याइनभ्याई भएको हो ।

लमजुङको मध्यनेपाल, दोर्दी, राइनास, मर्स्याङ्दी, सुन्दरबजारका विभिन्न स्थानमा लगाइएका धान काट्न थालिएको छ । रैथानेभन्दा वर्णशङ्कर र उन्नत जातका धानहरू छिटो पाक्ने भएकाले असोजमै धान थन्क्याउन किसानलाई चटारो परेको कृषि ज्ञान केन्द्र लजमुङले जनाएको छ ।

“रैथाने धान पाक्न मङ्सिर कुर्नुपर्छ, उन्नत र वर्णशङ्कर जातका धान छिट्टै पाकेको छ” कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले भन्नुभयो, “यतिबेला धान पाकेर फाँटहरू पहेँलपुर भएका छन, मौसम पनि सफा भएकाले किसानलाई धान काट्न र थन्क्याउन चटारो छ ।

कृषि ज्ञान केन्द्रका अनुसार लमजुङमा १६ हजार ४ सय ६३ हेक्टरमा धान खेती हुँदै आएको छ । १५ हजार ५ सय ५२ हेक्टरमा बर्खे धान हुन्छ । ९० प्रतिशतभन्दा बढीमा उन्नत जातको धान खेती हुँदैआएको ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाले बताए।

कार्यालयको तथ्याङ्कअनुसार उन्नत जातका रामधान, सावित्री, लोकतन्त्र, हर्दिनाथ, सुनौलो सुगन्ध, खुमल ४, सुक्खा १, २, ३, ४ जातका धन खेती गरिँदैआएको छ । वर्णशङ्करमा यूएस ३१२, शङ्कर, गोरखनाथ, चाँदनी र पृथ्वी जातका धान खेती गर्ने गरिएको छ । यस्तै, स्थानीय जातमा एक्ले, मन्सरा, मधेसे, अनादी, आँगा छन् ।

ज्ञान केन्द्र र स्थानीय तहका कृषि शाखाले ५० देखि ७५ प्रतिशत अनुदानमा उन्नत जातको धानको बिउ वितरण गरेका थिए । यसबाहेक किसान आफैले पनि बजारबाट उन्नत र वर्णशङ्कर जातका धानको बिउ किनेर रोपेका थिए । यस वर्ष धान रोप्ने समयमा मनसुन राम्रो भएको र रोपेपछि भित्र्याउने समयमा पनि मौसमले साथ दिएकाले धान उत्पादनमा वृद्धि हुने कृषि प्राविधिकको अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार