
मङ्सिर , काठमाडौं । लोकदोहोरी गायक सागर बोहराको निधन भएको छ । उनका भतिजहरु विदेश जान लागेको बेला एकचोटी भेटुँ भनेर कोठामा जाँदा कोठाको ढोका खुलै भएको र उनी सुतिरहेकै अवस्थामा मृत भेटेका थिए । यतिबेला उनको शवलाई प्रहरीहरुले मुचुल्का उठाउने कार्य भइरहेको गायक गणेश जिसीले मनास्लु पोष्टलाई जानकारी दिए ।
फोक्सो, लिभर र प्रेसरको समस्याले ग्रसित भएको फेला पारेपछि गायक गणेश जिसी, जुनु पुन लगायतले उपचारका लागि काठमाडौं ल्याएका थिए । केही समय अघि मात्र काठमाडौंको धापासीस्थित ग्राण्डी हस्पिटलमा उपचार गराएपछि सामान्य रुपमा फर्किएका गायक बोहराले काठमाडौंको गणेशस्थान नजिकै डेरा लिएर बस्दै आएका थिए ।
उनको स्वास्थ्यस्थिति सामान्य रुपमा आएपछि बसपार्कमा कामसमेत गर्न थालेको गायक गणेश जिसीले बताए । उनका अनुसार गायक बोहरा एक्लै भएका कारण पुनः मादकपदार्थ सेवन गर्न थालेको हुँदा निधन हुन पुगेको हुनसक्ने बताएका छन् ।गायक बोहराका कहिले माया लाउँदै, न्याउली जस्तै रुन्छु, अर्कैले सिन्दुर भरेको, बुटवल पोखरा लगायतका चर्चित गीतहरु बजारमा छन् । सुमधुर स्वरका धनी गायक बोहरा लामोसमय गाउँमा नै गुमनाम भएर बसेका थिए ।

1009 पटक हेरिएको 

