लुनाले चुमिन ‘मिस नेपाल वल्ड २०२५’ को उपाधि

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  Manaslu Post  155 पटक हेरिएको

काठमाडौं । यस वर्षको मिस नेपाल वल्डको उपाधि लुना लुँइटेलले जितेकी छिन् । शनिवार बेलुका ललितपुरको गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनाले समारोहको अन्तिम प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै लुना ‘मिस नेपाल वल्र्ड २०२५’ को उपाधि चुम्न सफल भएकी हुन् । उनले उपाधिसँगै आगामी वर्ष जुनमा केन्यामा आयोजना हुने ‘मिस वल्र्ड २०२६’ मा नेपालबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन् ।

‘द हिडन ट्रेजर’द्वारा आयोजित यो प्रतियोगितामा मुलुक भरका २६ प्रतियोगी अन्तिम प्रतिस्पर्धी बनेका थिए । विभिन्न चरणको प्रतिस्पर्धा पछि उनीहरूलाई ग्रान्ड फिनालेमा उतारिएको थियो । यसलाई यो पटक प्रतिस्पर्धा भन्दा पनि रियालिटी सोको हिसावले समेत आयोजना गर्ने अभ्यास आयोजकले गरेको थियो ।

यो प्रतिस्पर्धामा फस्ट रनर अप अर्थात् ‘मिस नेपाल कज्मो’को उपाधि दिपशिखा नेपालले प्राप्त गरिन् । उनले आगामी वर्ष ‘मिस कज्मो’मा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।

यस्तै ग्रान्ड फिनाले समारोहमा सेकेन्ड रनर अप अर्थात् ‘मिस नेपाल इनटरनेशनल’को उपाधि उरुषा भण्डारीले हासिल गरिन् । उनले अब नेपालको प्रतिनिधित्व गर्दै जापानमा आयोजना हुने ‘मिस इन्टरनेशनल २०२५’मा भाग लिने छिन् । यस्तै थर्ड रनर अप तथा ‘मिस नेपाल अर्थ’को उपाधि सोनी घलेले हासिल गरिन् । उनले पनि अब नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्समा हुने ‘मिस अर्थ २०२५’मा सहभागिता जनाउने छिन् ।

यस पटक मिस नेपाल प्रतियोगिता निकै विवादमा रह्यो । यो प्रतियोगिताकी कोरियोग्राफर रचना गुरुङले जन्मजातै एक हातको हत्केला गुमाएकी प्रतियोगी रोशनीलाई अडिसनको क्रममा होच्याएपछि मिस नेपाल प्रतियोगिताको धेरै नै विरोध भयो । जसका कारण आयोजक पक्षले ठुलो घाटा समेत सहनु परेको थियो । यसरी सुरुमै विवादमा परेको यो प्रतियोगिता सोही घटनाले भाइरल त भयो तर, यसको छविमा आँच पुग्यो । जसका कारण मिस नेपालले यसपटक आफ्नो ‘टाइटल स्पोन्सर’ समेत पाउन सकेन ।

यो प्रतियोगिताको फिनालेमा चयन भएका २६ प्रतियोगी मध्यबाट यस पटक मिस नेपाल वल्र्ड, फस्ट रनर अप, सेकेन्ड रनर अप, थर्ड रनर अप बाहेक पनि अन्य १४ वटा उप शीर्षकमा प्रतिस्पर्धीहरुलाई उपाधि प्रदान गरियो । यसरी थुप्रै उपाधि थपेर मिस नेपाल वल्र्ड प्रतियोगिता पनि अन्य प्रतियोगिता जस्तै सस्तो बन्न पुगेको आरोप पनि यसले खेप्नु परेको थियो ।

तथापि १४ वटा उपाधि तर्फ ‘मिस हेल्दि स्किन’ आरती थापाले, ‘मिस कन्फिडेन्स’को उपाधि प्रज्ञिका क्षेत्रीले, ‘मिस ग्रिन भिजिनरी’को उपाधि जगदिश्वरी शाहले, ‘मिस प्रिस्टिन’को उपाधि प्रियंका थापाले, ‘मिस टाइमलेस इलिजेन्स’को उपाधि उरुषा भण्डारीले, ‘मिस फेस अफ द इयर’को उपाधि स्मृति श्रेष्ठले, ‘मिस इम्पावर्ड च्वाइस’को उपाधि दीपशिखा नेपालले प्राप्त गरे ।

सोही प्रतिस्पर्धामा ‘मिस ह्याप्पीनेस इन्टिलिजेन्ट’को उपाधि लुना लुँइटेलले, ‘मिस ब्युटीफुल हेयर’को उपाधि सइच्छा थापाले, ‘मिस पपुलर च्वाइस’को उपाधि उरुषा भण्डारीले हासिल गरे । यसै गरी ‘मिस फोटोजेनिक’ स्मृति श्रेष्ठ, ‘मिस फेस अफ फार्मेसी’, स्मृति श्रेष्ठ, ‘मिस ब्युटी विथ अ पर्पस’, सृष्टि कुमारी तामाङ, ‘मिस इन्टलेक्चुअल’ श्रुति महर्जन र ‘मिस वुमन विथ विंग्स’ नीलिमा पोखरेल घोषित भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार