आगामी भाइटिकामा ‘सोल्टिनी’ रिलिज हुने

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  Manaslu Post  329 पटक हेरिएको

काठमाडौं । चलचित्र ‘सोल्टिनी’ अब आगामी भाइटिकाको अवसर पारेर ६ कात्तिकमा रिलिज हुने भएको छ । यस अघि यो चलचित्र संविधान दिवसको अवसरमा ३ असोजमा रिलिजको घोषणा गरिएको थियो । तर ३ असोजमा ‘जारी २’ रिलिज हुने भए पछि यो चलचित्र ६ कात्तिकमा रिलिज मिति घोषणा गरिएको हो ।

चलचित्र निर्माणको जिम्मा धरान महानगरपालिकाका मेयर हर्क साम्पाङको टिमले लिएको छ । यसको कार्यकारी निर्माताको रूपमा जनउत्तरदायित्वका लागि सक्रिय ’हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ जोडिएका छन् ।

अन्तरजातीय प्रेम कथामा आधारित यो चलचित्रमा प्रकाश सपूत, परीक्षा लिम्बु, विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारहरूको अभिनय छ । चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् ।

यो चलचित्रको शुक्रवार चार वटा पोस्टर एक साथ रिलिज गरिएको छ । जसमा चलचित्रका शीर्ष कलाकार प्रकाश सपुत र परीक्षा लिम्बुलाई महत्त्व दिइएको छ ।

‘हाम्रो चलचित्र सोल्टिनीले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ भने दुई प्रमुख पात्रबिचको प्रेम कथा यसको मुख्य आकर्षण रहेको छ ,’ निर्देशक अर्जुनले भने ।

‘सोल्टिनी’का गीतहरूमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत छ । जसमा सुशन प्रजापतिको छायांकन, अर्जुन सुवेदी र कुमार भट्टराईको लेखन छ । यो चलचित्र प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको हो । यसका निर्माताहरूमा रेजिना बिस्ट र संसार चौलागाई, सह निर्मातामा रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी छन् । चलचित्रको छायांकन इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरमा गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार