
मुस्ताङ : यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा भारी फेरि हिमपात भएको छ। मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथोपटक हिमपात भएको हो।
मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक अर्जुन काफ्लेले जानकारी दिए। मुक्तिनाथ आसपासका क्षेत्रमा मध्यम हिमपात भइरहेको सहव्यवस्थापक काफ्लेको भनाइ छ।
यसअघि जारी सिजनको पहिलो हिमपात कात्तिक १० गते सुरु भएको थियो। योसँगै जारी सिजनमा चौथोपटक हिमपात भएको समितिका सहव्यवस्थापक काफ्ले उल्लेख गरे।
यसअघि गएको मङ्गलवार राति मुस्ताङको मुक्तिक्षेत्र र कागबेनीदेखि माथिल्लो क्षेत्रमा भारी हिमपात भएको थियो। गएको मङ्गलवार राति मुस्ताङको उच्चलेकमा पनि आंशिक हिमपात भएको थियो।
यहाँको मुक्तिनाथ क्षेत्रमा हिमपात भएसँगै त्यस आसपासका डाँडाकाँढा र रानीपौवा बजार पूरै हिमपातले सेताम्मे भइसकेको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिए।
केही घण्टा अगाडिदेखि निरन्तर हिउँ परिरहेको र रातभरि परेमा मुक्तिनाथ क्षेत्रका सबै बस्ती हिउँले ढाकिने पर्यटन व्यवसायी सुरज गुरुङको भनाइ छ।

55 पटक हेरिएको 

