सोलु जलविद्युत निर्माण सम्पन्न, परीक्षण उत्पादन शुरु

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  Manaslu Post  855 पटक हेरिएको

सोलुखुम्बु,  । सोलुखुम्बुमा दर्जन हाराहारीमा निर्माण भइरहेका जलविद्युत् आयोजनामा अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लि.द्वारा निर्माण गरिएको २३.५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजनाले विद्युत् उत्पादन शुरु गरेको छ ।
नेपाल सरकारले अध्ययन गरेर निजी क्षेत्रलाई निर्माण गर्न दिएका नेपालका छ आयोजना (सुपर सिक्स) मध्येको एक यो आयोजना हालै निर्माण सकेर प्रशारणको पर्खाइमा रहेको छ ।
आयोजनाको सबै काम सकेर विद्युत्को परीक्षण उत्पादन गर्न थालेको र नेपाल विद्युत् प्राधिकरण र नेपाल विद्युत् विकास विभागका प्राविधिक आएर परीक्षण गरी पास गरेपछि नियमित प्रशारणमा जाने आयोजनाका प्रबन्धक मार्कण्डेय न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार हाल केन्द्रिय प्रशारण लाइनमा जोड्ने सोलु कोरिडोर निर्माण नभइसकेकाले वैकल्पिक रुपमा ३३ केभीए प्रशारण लाइनबाट लाम्माने–ओखलढुङ्गा–बुइपा–गाइघाट पठाउने योजना रहेको छ ।
सन् २०१० मा निर्माणका लागि ऊर्जा मन्त्रालयको अनुमतिपछि सन् २०११ बाट प्रारम्भिक काम शुरु गरी २०१४ बाट निर्माणको काम थालेको आयोजनाले सन् २०१८ भित्र निर्माण पूरा गर्ने लक्ष्य रहेपनि भूकम्प तथा आयोजना क्षेत्रको भौगोलिक अवस्थाका कारण एक वर्ष ढिलो सम्पन्न भएको जनाएको छ । पूर्ण स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाको लागत करिब तीन अर्ब ४० करोड रुपियाँ रहेको प्रबन्धक न्यौपानेले बताउनुभयो ।
खोलाको पानीको बहाब (नदी प्रवाही) मा आधारित आयोजनाको तल्लो भागमा १७० मिटर लामो टनेल रहेको छ भने टनेलभित्र हाई प्रेसर पाइप बिच्छ्याएको छ । कूल ४.३ किलोमिटरको पाइपमध्ये तीनसय नौ मिटर लो प्रेसर र चारसय मिटर हाई प्रेसर संरचनामा पर्ने आयोजनाका साइट प्रशासन प्रमुख बद्रीमान श्रेष्ठले जानकारी दिनुभयो ।
सोलु खोलाको पानी नियन्त्रण गर्न ४.२ मिटर उचाई र २६ मिटर लम्बाईको बाँध निर्माण भएको छ भने बाँधको पानी आवश्यक परेको समयमा रोक्न र बढी हुँदा खोल्न तीन मिटर लामो दुईवटा गेट भएको ‘स्लुइस’ निर्माण गरिएको छ । २.५ मिटर ब्यास र १.९ मिटर उचाइका पेनस्टक पाइप रहेको जनाएको छ । आयोजनामा १.२ मिटर उचाई र ४.३ मिटर लम्बाइका तीनवटा इन्टेक गेट रहेको प्रमुख श्रेष्ठले बताउनुभयो ।
आयोजनाले डिसेन्डर (बालुवा थिग्र्याउने पोखरी) नेपालकै पहिलो सेडिकन प्रविधिको प्रयोग गरिएकाले बालुवा आफैँ छान्ने उहाँको भनाइ छ । विद्यतगृहमा ११.७५ मेगावाट विद्युत् उत्पादन गर्ने दुईवटा जेनेरेटर रहका छन् । आयोजनाबाट वार्षिक १३२.५ गिगावाट आवर विद्युत् उत्पादन हुने बताइएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने १३२ केभीको सोलु कोरिडोर अन्तरगत लाम्मानेमा निर्माण हुने सबस्टेसनमा जडान हुनेछ । आयोजनाको कन्सट्रक्सनको काम ‘सिई कन्सट्रक्सन’ले गरेको हो ।
आयोजनाका लागि लक्ष्मी बैङ्कको नेतृत्वमा आठ वटा बैङ्क र एउटा जलविद्युत् लगानी तथा विकास कम्पनी गरी ७५ प्रतिशत लगानी गरेका छन् भने २५ प्रतिशत कम्पनीको इक्वीटी रहेको छ । जसमा लक्ष्मी बैङ्क, एनएमबी बैङ्क, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, एभरेष्ट, ग्लोबल आइएमई, एनआइसी एसिया, बैङ्क अफ काठ्माण्डु, सेन्चुरी कमर्सियल बैङ्क र जलविद्युत् लगानी तथा विकास कम्पनीले लगानी गरेका छन् । सोलुखुम्बुबाट बन्ने विद्युत आयोजनामा यो सबै भन्दा पहिला राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार